सम्झनामा रामचन्द्र सर

वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको देहावसानले आहत हुनेमध्ये म पनि एक हुँ । उहाँसँगको छोंटो तर मीठो सम्बन्धको सम्झना मेरा लागि म रहेसम्म मेरो जीवनमा सदा काल रहने छ । ओजस्वी पत्रकार भएर पनि मलाई उहाँको सरल व्यक्तित्वले आकर्षण गरिरह्यो । आफ्नो टिम परिचालन गर्ने खुबीले जितेको व्यक्तित्वका रूपमा पनि स्वीकार्छु म । यी गुण उहाँ नरहेर लेखिएका होइनन् यसअघि लेखिएका डायरीबाट उतारेको हुँ ।
उहाँका भतिजा तथा मेरा असलमित्र पत्रकार सन्तोष न्यौपानेका अनुसार उहाँको जन्म वि.सं. १९९१ साल फागुन १८ गते लम्जुङको जिता गाविस वडा नं. ६ मा भएको हो । सन्तोषले ईश्वरको लीलाप्रति उदेक मान्दै भन्नुभयो, ‘‘८४ वर्षका भए पनि अहिल्यै केही होलाजस्तो थिएन । राति १० बजे हाइसञ्चै सुत्नुभएका ठूलाबुवा बिहान हेर्दा भौतिक संसारबाट विदा भईसक्नु भएको थियो । ईश्वरको इच्छासँग हामी स्तब्ध भयौं ।” २०७५ साल भदौ ६ गते उहाँको निधन भयो ।

रामचन्द्र न्यौपाने

२०५३ सालदेखि जनधारणा साप्ताहिकबाट शुरु भएको मेरो नियमित पत्रकारिता अहिले पनि जारी छ । यसबीचमा कैयन् मिडियामा काम गरें । तर मैले सम्झनयोग्य अग्रजमध्ये एक राचन्यौ सर हुनुहुन्थ्यो र मेरो मानसपटलमा भइरहनु हुनेछ । मैले मोफसलबाट शुरु गरेको पत्रकारितामा साप्ताहिक जनसत्ता पनि एक हो । त्यसबेला म जनधारणामा कार्यरत थिएँ । त्यो पत्रिका बिहीबार प्रकाशन भइरहेको छ । साप्ताहिक जनसत्ता शनिवार प्रकाशन भइरहेकोले दुई दिनका ताजा समाचार दिन सकिन्छ भन्ने लागेर काठमाडौं आएर प्रधानसम्पादक रहनुभएका न्यौपाने सरलाई भेटें । उहाँले मेरो प्रस्तावलाई सजिलै स्वीकार्नु भयो । अनि दुईटा साप्ताहिकको रिपोर्टिङ गर्ने जिम्मेवारी निर्वाह गरें ।
त्यसलगत्तै ०५४ सालतिर काठमाडौं खाल्डोमा बस्ने भएँ भनेर सरलाई भेटें । हुन्छ यहीँबाट गर भन्नुभयो । अनि हाम्रो सम्बन्ध थप नजिकिदै गयो । केही सातापछि मलाई अन्तर्वार्ता लिने जिम्मेवारी दिनुभयो । मैले पनि त्यसबेला नाम चलेका वरिष्ठ नेताहरूको रोचक अन्तर्वार्ता लिएँ सर धेरै खुशी हुनुभयो । सरले हामी सबैलाई उत्तिकै प्रोत्साहित गर्नुहुन्थ्यो । सर यो गर्छु भनेपछि हुन्छ भनिहाल्नु हुन्थ्यो । सरसित म धेरैपटक धेरै जनाको अन्तर्वार्ता लिन सँगै पनि गएँ । केही सरले सोध्नुहुन्थ्यो अनि मलाई सोध्न लगाउनु हुन्थ्यो । सरसित जता गए पनि ट्याक्सीमै गइन्थ्यो । गन्तव्यमा नपुग्दासम्म हाँसोठट्टा गरिरहनु हुन्थ्यो । त्यो हाँसोठट्टा ट्याक्सीवालासित पनि हुन्थ्यो र मसित पनि । एकपटक कोरियन राजदूतको अन्तर्वार्ता लिन कोरियन राजदूतावास ललितपुरमा गइयो । सरसित जाँदा छुट्टै मजा हुन्थ्यो । किनकि सरको हाँसो ठट्टा सुरुचिपूर्ण नै थियो । दिल खोलेरै हाँस्नुहुन्थ्यो । राजदूतको अन्तर्वार्ता रोचक भयो भन्नु भयो ।
राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको अन्तर्वार्ता लिन गौरीघाटमा सँगै गइयो । कतिपय ठाउँ र अवस्था बिर्सिएँ । तर पूर्वआईजीपी मोतिलाल बोहोराको नयाँ बानेश्वरस्थित निवासमा भएको रमाइलो बिर्सनयोग्य छैन । साँझ अबेर त्यतैको डिनरको प्रस्ताव स्वीकार गरी हामी दुई पुग्यौं । एकछिन अनौपचारिक कुरा भए । त्यसपछि आयो देशी विदेशी कुनचाहिँ रक्सी । मैले ख्याल गरिन वा बिर्सिएँ त्यो ह्विस्की, ब्राण्डी वा के थियो, सम्झना यतिमात्र छ कि त्यो रक्सीचाहिँ थियो नै । तीनवटा गिलास आए । अनि मोति सरले मेरो गिलासमा राख्न खोज्दा मैले इन्कार मात्र के गरेको थिएँ उहाँ त खित्का छाडेर हाँस्न थाल्नु भयो । एकछिन पछि रामचन्द्र सर पनि हाँस्नु भयो र भन्नुभयो अहिलेसम्म उनले रक्सी पिएको थाहा छैन । हुन त म पनि जहाँसुकै र जहिलेसुकै रक्सी खाइहाल्ने मानिस होइन भन्ने कुरा आईजीपी साबलाई थाहा छ पनि भन्नुभयो । हो, सरले पनि त्यसरी त कहाँ खानुहुन्छ र ! अप्ठेरो मान्नु पर्दैन हामीसित फ्रैंक्ली लिंदा हुन्छ भनेर मोति सरले अनुरोध गर्नुभयो र पनि मैले रक्सी नलिने निर्णय गर्दै भनें, यसका लागि सरी सर, तर सरहरूले पनि मैले नलिएकोमा अप्ठेरो नमान्दा हुन्छ । अनि मैले सोधें, आईजीपी सर किन यसरी हाँस्नुभयो ? उहाँले भन्नुभयो,–अहिलेको योङ जेनेरेशन त्यसमा पनि पत्रकार, रक्सी नखाने कोही छैन होला भनेको त तपाईं हुनुहुँदो रहेछ भनेर हाँसो उठ्यो । हो सर, मैले रक्सी खान नसिकेर कहिलेकाहीँ गल्ति गरेजस्तो लाग्छ तर पनि खान मन फिटिक्कै लाग्दैन । रामचन्द्र सरले पनि थोरै लिनु भयो । थोरैमा नै हामी विदा भयौं तर डिनरसहित ।
रामचन्द्र सरको भारतीय राजदूतावास लैनचौरमा राम्रो सम्बन्ध थियो । त्यो कुरा मलाई उतिबेलै थाहा भए पनि त्यहाँबाट लिन सकिने सम्भावित फाइदाबारे मैले कहिल्यै कुनै प्रस्ताव गरिन । लम्जुङमा जन्मनुभएका रामचन्द्र सरको घर लैनचौर थियो । पत्रिकाको कार्यालयमा शुक्रबार मात्र पुग्ने हुँदा अरुबेला काम परे सरको घरमै जानु पथ्र्यो । तर सरले घरमा भन्दा बढी लैनचौरकै होटल एम्बास्साडोरमा बोलाउनु हुन्थ्यो । सरको नाममा खुलेको खाताबाट बिहानको नास्ता वा दिउँसोको खाजा खाइन्थ्यो । कतिपय व्यक्तित्वको अन्तर्वार्ता त्यहीँ होटलमा नास्ता गर्दै पनि लिइयो ।
०५६ सालको अन्तिमतिर हामी धेरैले रामचन्द्र सरसितको सम्बन्ध कायम रहने गरी चण्डेश्वरी प्रकाशनबाट विदा लियौं । त्यसैले जनसत्तामा पछिसम्म पनि केही न केही खुराक छापिइ नै रह्यो र सरसित भेटघाट पनि भई नै रह्यो । सर सहयोगी भावनाको मानिस हुनुहुन्थ्यो । उत्प्रेरक हुनुहुन्थ्यो । उहाँको सहयोग र प्रेरणाले पत्रिकामा जोसुकै र जस्तासुकै व्यक्तित्वको अन्तर्वार्ता लिन सकियो । खतरा मोलेर समाचार लेख्न सकियो । कहिलेकाहीँ लेख पनि लेखियो । सर हाम्रो टिमका लागि आड भरोसाका संरक्षक पनि हुनुहन्थ्यो ।
बहुदलीय व्यवस्थाको समाप्तिसँगै गोरखापत्र दैनिकमा प्रवेश गरी बहुदलीय व्यवस्थाको पुनबर्हालीसँगै गोरखापत्र दैनिकमा आफ्नो जागिर सकिएको घटनालाई बडो रोचक ढंगले सुनाउनु हुन्थ्यो । मलाई बहुदल फापेको छैन भन्नुहुन्थ्यो । तर पनि उहाँको मिलनसार स्वभाव र खारिएको व्यक्तित्वका कारण नयाँ पुराना सबै तह र तप्काका धेरैजसो नेतासित उहाँको सम्बन्ध राम्रै थियो । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक भन्ने गौरव र उहाँको शालीन स्वभावले हामी परिचालित थियौं र बाहिर पनि उहाँकै नामले साप्ताहिक जनसत्ता लोकप्रिय थियो । यस्ता आदरणीय सरसित अझ केही वर्ष संगत गर्ने धोको अधुरै रहेको छ । यो अधुरो इच्छालाई मधुरो जूनको प्रकाशसित साटेर त्यस्ता आदरणीय सरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।