निस्वार्थ तवरले जिम्मेवारी निर्वाह गर्दा सबैबाट सहयोग प्राप्त हुन्छ

– जितेन्द्र बस्नेत (प्रमुख जिल्ला अधिकारी, चितवन)

चितवनले नया वर्ष २०७५ को तेस्रो साता जितेन्द्र बस्नेतलाई यहाँका लागि नयाँ प्रजिअ पायो, त्यसले यहाँको भाग्य चम्केर आयो भन्न मिल्ने अवस्था सिर्जना हुँदैछ । लगनशील, इमानदार र जनताप्रति वफादार प्रशासकका रूपमा छोंटो समयमै आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ उहाँ । एउटा सफल राष्ट्रसेवकको गुणमा हुनुपर्ने क्षमता प्रजिअ बस्नेतले देखाइरहनु भएको छ । शान्ति सुरक्षाको अमनचैन र समृद्धिको अग्रगामी छलाङ मार्न उद्यत् चितवनवासीले बस्नेतजस्ता कुशल प्रशासकबाट सम्भावनाको ढोका खुलेको संकेत भनी भरोसा गरेका छन् । प्रतिभाशाली व्यक्तित्वका पनि धनी उहाँसँग चितवन जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक सुशासन आदिका बारे शिशिर सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

तपाईं यस जिल्लामा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
म यस जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा २०७५ साल बैशाख २१ गतेदेखि कार्यरत छु । यस जिल्लामा आउनु भन्दा अगाडि म गोरखा जिल्लाको सोही भूमिकामा विगत अठार महिनादेखि कार्यरत थिएँ । मलाई गोरखा जिल्लामा रहँदा नियमित कामका अतिरिक्त सबै तहका निर्वाचनहरु शान्तिपूर्ण, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने सुअवसर प्राप्त भएको थियो ।
त्यस दिनदेखि आजसम्म जिल्लाको अवस्थिति के कस्तो बुझ्नु भयो ?
चितवन जिल्ला भूगोलका हिसावले मुलुककै केन्द्रभागमा पर्ने जिल्ला हो । महाभारत र चुरे पर्वतको बीचमा रहेको समथर भूभाग, नारायणी, राप्ती, लोथर र रिउ जस्ता प्रमुख नदीहरु, आवादीभन्दा बढी वन जंगलले ढाकेको भूभाग, विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज आदि यहाँका भौगोलिक विशेषता हुन् । यो जिल्ला आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र जनसांख्यिक रुपमा पनि विविधतायुक्त रहेको छ । सौराहा लगायतका पर्यटकीय स्थलहरुको भ्रमण गर्न बढी पर्यटकहरु भित्रिने मुलुककै तेस्रो जिल्ला पनि हो । निकुञ्जमा आधारित पर्यटन मात्र नभएर जल पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक साँस्कृतिक पर्यटनको पनि प्रचुर सम्भावना रहेको छ । कृषि तथा पशुपञ्छीसँग सम्वन्धित उद्योगधन्दाको उल्लेख्य विकास भएको छ । महानगरपालिकाको भरतपुर क्षेत्रले मेडिकल सिटीको पहिचान बनाउँदै गएको छ । पूर्वाधार विकास निर्माणले तीव्र गति पक्रेको छ । विकास र समृद्धिका निम्ति सबै राजनीतिक दलहरुबीच सहमती र सहकार्यको संस्कार रहेको छ । आम नागरिकमा चेतनास्तर अभिवृद्धि भएको छ । एक महानगर, पाँच नगर र एक गाऊँपालिकामा समेटिएका स्थानीय तहहरु सुशासन, विकास र सम्वृद्धिको अभियानतर्फ अग्रसर भएका छन् । शान्ति सुरक्षा र अपराध नियन्त्रणका निम्ति सबैको सक्रिय सहयोग र पहलकदमी रहने गरेको छ ।
प्रजिअको हैसियतमा यस जिल्लामा कस्ता कस्ता समस्याको पहिचान गर्नुभयो ?
भूगोलको हिसावले केन्द्रभागमा रहे जस्तै विभिन्न अपराधिक गतिविधिका हिसावले पनि यो जिल्ला केन्द्र र ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ । शहरीकरणसँगै अपराधका घटनाहरु स्वभाविक रुपमा अभिवृद्धि भएको छ । विशेषगरी लैंगिक हिंसा, मानव तथा चेलीबेटी ओसारपसार र बेचविखन, अवैध मदिराको कारोवार, वेश्यावृत्ति, चोरी, ठगी, धाकधम्की, जवरजस्ती चन्दा असुली, आगजनी, विस्फोट जस्ता गैरकानुनी एवं अपराधिक क्रियाकलापले शान्ति सुरक्षा र अमनचैनमा असर पुगेको छ । विशिष्ट व्यक्तित्वहरुको आवागमन पनि भइरहने हुँदा उहाँहरुको सुरक्षा चुनौतिको पनि सामना गर्नु परेको छ । सूचना प्रविधिको विकाससँगै अपराधका शैली र स्वरुप पनि बदलिएकोले अपराध अनुसन्धान कार्य जटील बनेको छ । पूर्व पश्चिम लोकमार्गको एक खण्ड र भर्खरै निर्माण सम्पन्नको चरणमा रहेको नारायणघाट–मुग्लिङ सडक खण्डमा दिनहूँ जसो हुने सडक दूर्घटना र त्यसबाट हुने मानवीय क्षति असह्य छ । बाढी पहिरो र डुवान जस्ता प्राकृतिक विपद्का हिसावले जोखिमयुक्त रहेको छ । विकास निर्माणका आयोजनाहरु तोकिएको लागत, गुणस्तर, परिमाण र समयमा नै सम्पन्न हुन सकिरहेको छैन । बजारमा कार्टेलिङ, सिण्डिकेट, कालोबजारी, मिसावट, जम्माखोरी, नाफाखोरी जस्ता विकृति र विसङ्गतिले नराम्ररी गाँजीरहेको छ । बजारको नियमन चुनौतीपूर्ण बन्दै गइरहेको छ । सेवाप्रदायक निकायहरुलाई सेवाग्राहीमैत्री र नतिजामुखी बनाएर आम नागरिकको विश्वास जित्न अझै पनि निकै कसरत गर्नु पर्ने अवस्था छ । परिवर्तनको मूल्य, मान्यता र भावना अनुरुप सेवा प्रवाह र सुशासनलाई सुदृढ गर्न सकिएको छैन । दण्डहिनताको अन्त्य र कानूनको कार्यान्वयन एवं परिपालना गर्ने गराउने संस्कार बसाउन कठिन भएको छ । विविधता व्यवस्थापन र परिवर्तन व्यवस्थापनमार्फत समाजलाई सुरक्षित एवं सुव्यवस्थित बनाउने कार्य चुनौतीपूर्ण बनेको छ । धेरै समितिहरुको अध्यक्षता समेत गर्नु पर्ने भएकोले प्रभावकारी भूमिका निर्वाह गर्न कठिन भएको छ ।

नागरिकता र राहदानीसम्बन्धी समस्या छ कि छैन ?
नेपाली हुनुको पहिचानका रुपमा रहेको नागरिकताको प्रमाणपत्र र राहदानी वितरण गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण काम हो । नागरिकता वितरण गृह मन्त्रालयको कामभित्र पर्दछ भने राहदानी वितरण परराष्ट्र मन्त्रालयबाट प्रत्यायोजित काम हो । संविधानको मर्म र भावनाअनुरुप नेपाल नागरिकता ऐनमा समयानुकूल परिमार्जन हुन नसक्दा बाबुको ठेगान नभई हालको अवस्थामा वंशजको एकिन गर्न कठिन भएकाहरुलाई आमाको नामबाट नागरिकता प्रदान गर्न र जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई वंशज वा केका आधारमा नागरिकता प्रदान गर्ने भन्ने सन्दर्भमा केही अन्यौलता र द्विविधा रहेको छ । देशभरिबाट चितवन जिल्लामा आएर बसोवास गरेका व्यक्तिहरुले यहीँबाट नागरिकता लिने चाहना राख्ने गरेको भए तापनि बसाइसराइको प्रमाण नभएसम्म यहाँको स्थायी बासिन्दा मान्न सकिने अवस्था छैन । यसबाट पनि केहीले नागरिकता पाउन समस्या देखिएको छ । अन्य देशका नागरिक भइसकेकाहरुले दोहोरो नागरिकता लिन प्रयास गर्ने, झुटो विवरण र कागजात तयार गरेर दुई पटक नागरिकता लिने, भारतीय सेनामा नोकरी गर्नेहरुको नोकरीको अभिलेख र नागरिकताको विवरण फरक हुँदा विवरण प्रमाणित गरिदिनु पर्ने, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा नाम थर र जन्ममिति फरक भएर सच्याउन आउने जस्ता समस्याहरु रहेका छन ।
प्रशासनिक सरलता, सहजता र सुशासन ल्याउन तपाईंले के कस्ता कदम चाल्नुभएको छ ?
प्रशासनिक निकायहरुबाट सम्पादन हुने सेवा वितरणको कामलाई सरल, सहज, छिटोछरितो, सेवाग्राहीमैत्री बनाउनका निम्ति जिल्ला प्रशासन सुधार कार्ययोजना तर्जुमा गरेर सो अनुरुप केही आन्तरिक र बाह्य सुधारका प्रयासहरुको शुरुवात गरिएको छ । अहिलेको युग सूचना प्रविधिको युग भएकोले आन्तरिक सुधारलाई डिजिटल सुधारमा जोड दिइएको छ । जसअन्तर्गत सेवाग्राहीले आफूले चाहेको सेवा छानेर हेर्न मिल्ने किसिमको ५५” स्क्रीन सहितको डिजिटल चार्टर (नागरिक बडापत्र), कर्मचारी र सेवाग्राहीबीचको गतिविधि निगरानी गर्न सीसी क्यामेरा, कार्यालयका सबै सेवाको जानकारी र काम कारवाहीको विवरण मोवाइलबाट नै हेर्न मिल्ने एन्ड्रोइड मोबाइल एप्लिकेशन, सेवाग्राहीका निम्ति फ्री वाईफाई, सेवाग्राही विश्रामस्थलमा ५५” स्क्रीनको टेलिभिजन समेत हेर्न मिल्ने डिजिटल चार्टर, फेसवुक पेज र कार्यालयको वेवसाइट अपडेट आदि तयार गरी चालु गरिएको छ । त्यसैगरी सेवाग्राहीहरुको सुविधाका लागि टोकन प्रणाली, विश्रामका लागि आरामदायी भिजिटर चियर, खानेपानीको व्यवस्था, सस्तो सेवा शुल्कमा निवेदन लेख्ने, फाराम भर्ने र राहदानी र नागरिकताका लागि फोटो खिच्ने सुविधा सहितका सहायता कक्षहरु, सोधपुछ कक्षको व्यवस्था, जेष्ठ नागरिक, अशक्त र अपाङ्गहरुका लागि शीघ्र सेवा प्रदान गर्ने व्यवस्था, कार्यालयबाट नै मतदाता नामावली अद्यावधिक गर्ने व्यवस्था, गुनासो पेटिका आदिको व्यवस्था गरिएको छ । कार्यालयको कार्यकक्ष र परिसर सरसफाई, परिसरमा वृक्षारोपण र सेवाग्राही विश्रामस्थलमा छानो लगाउने कार्य समेत सम्पन्न गरिएको छ । सेवाग्राही आमाहरुका लागि स्तनपान कक्ष र सेवाग्राहीका लागि प्राथमिक उपचार कक्ष, विद्युत व्याकअप, ट्वीटर तथा भाइवर एकाउण्ट सञ्चालन र कार्यालय परिसर व्यवस्थापन गर्ने सोच रहेको छ । कार्यालयबाट सम्पादन हुने कामलाई थप उत्तरदायी र पारदर्शी बनाउने प्रयास भएको छ । बाह्य सुधारतर्फ बजार अनुगमन र विकास सहजीकरणको कामलाई तीब्रता प्रदान गरिएको छ र नतिजामूलक बनाउने प्रयास भएको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका निम्ति उपलव्ध स्रोत साधनसहित उच्च सतर्कता अपनाइएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा जाने पहिरो तत्काल पञ्छाएर बाटो सुचारु गर्ने प्रवन्ध मिलाइएको छ । अन्य सेवा प्रदायक निकायहरुबाट सम्पादन हुने कामकारवाहीलाई छिटोछरितो, सहज, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन निर्देशन गरिएको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धान एवं नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न अपरेशनहरु सञ्चालन गरिएको छ ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
जिल्लामा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा सहितको सुव्यवस्थाको प्रवन्ध मिलाउनु अवश्य पनि चुनौतीपूर्ण कार्य हो । शान्ति सुरक्षा र अपराध नियन्त्रणसँग जोडिएका अनेकौं चुनौतीहरुका बावजुद पनि हाल जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य रहेको छ । शान्ति सुरक्षाको भरपर्दो व्यवस्थाबाट मात्र आर्थिक, सामाजिक साँस्कृतिक रुपान्तरणको एजेण्डालाई पूरा गर्न सकिने कुरामा सबैको मतैक्य रहेको छ । त्यही मार्गदर्शनमा रहेर हामी कानूनको कार्यान्वयन, परिपालनाका माध्यमबाट दण्डहिनताको अन्त्य गर्ने गरी काम गरिरहेका छौं ।
वर्तमान राज्य संरचनाअनुसार काम गर्न कत्तिको सहज छ ?
अहिले मुलुक संघीय शासन पद्धतिमा चलिरहेको छ । गएको वर्षभरिमा संघ, प्रदेश र स्थानीय तहको ऐतिहासिक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएर संविधानको कार्यान्वयनसँगै संसार नै चकित हुने गरी नेपाल नयाँ युगमा प्रवेश गरेको छ । अब सबै तहका सरकारहरुको ध्यान र ध्येय शान्ति, सुशासन, विकास र सम्वृद्धितर्फ केन्द्रित भएको छ । आम नागरिकको चासो र सरोकार पनि त्यही नै रहेको छ । सबैको लक्ष्य र उद्देश्य एउटै भएको हुँदा वर्तमान राज्य संरचनामा रहेर काम गर्दा असहजता महसुस गर्नु पर्ने कुनै कारण छैन ।
अभाव, प्रभाव र दबाबको सामना गर्नुपर्ने अवस्था कस्तो छ ?
हरेक प्रशासकको प्रमुख दायित्व विद्यमान नीति, ऐन, कानून र नियम अनुसार काम गर्ने हो अर्थात कानूनको कार्यान्वयन गरेर समाजमा दण्डहिनताको अन्त्य गर्नु हो । कानूनको परिपालना गर्नु गराउनु हो । निस्वार्थ तवरले आफूलाई प्राप्त जिम्मेवारी निर्वाह गर्दा सबैबाट सकारात्मक सहयोग प्राप्त हुन्छ । सेवा वितरणका कामहरुलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र समन्यायिक तवरबाट सम्पादन गर्ने हो भने कसैको दवाव र प्रभावको सामना गरिरहनु पर्दैन । नेपालका राष्ट्रसेवक कर्मचारीहरुले संसारकै न्यून वेतनमा पनि उच्च मनोवलका साथ काम गरिरहेको अवस्था छ । त्यसैले हामी समग्र जीवन राष्ट्रसेवामा अर्पण गरेर अभावमा पनि बाँच्न सक्ने ल्याकत र तागत राखिरहेका छौं ।
यहा“ आएपछि भन्नमिल्ने सुखद् र दुःखद् क्षण केही छन् कि ?
चितवन जिल्ला आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक, भौगोलिक, राजनीतिक र जनसाङ्ख्यिक हिसावले प्रचुर सम्भावना बोकेको जिल्ला हो । अबको केही दशकमा यहाँका नगर एवं शहरहरुको स्वरुप र श्रृष्टिमा अकल्पनीय परिवर्तन हुनेछ । त्यसैले यस्तो अनुपम विविधतायुक्त विशेषताहरुले भरिपूर्ण जिल्लाका सचेत नागरिकहरुको सेवामा समर्पित हुन पाउनु आफैमा गौरवको विषय हो । सबै पक्षको साथ सहयोग प्राप्त भइरहेकोले कार्यसम्पादनको रफ्तार सुखानुभूतिका साथ अगाडि बढिरहेको छ । आगामी दिनमा पनि शान्ति सुरक्षा, सुशासन, विकास र सम्वृद्धिका निम्ति राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाज, मिडिया लगायत सबै पक्षबाट आवश्यक साथ सहयोग र सुझावको अपेक्षा गर्दछु । गल्ती, कमीकजोरी औल्याएर सत्मार्गमा लाग्ने प्रेरणाका निम्ति चितवनबासी आम नागरिकको चासो, खवरदारी र निगरानी आवश्यक ठान्दछु ।