सांगीतिक क्षेत्रमा उदाएकी मनिता (भिडियो/फोटो फिचर सहित)
काठमाडौं । शिक्षण पेशा त्यागेर गायन क्षेत्रमा संघर्ष गर्दै छिन्, गायिका मनिता राई चाम्लिङ । नेपाली गीत संगीतप्रति बढ्दो मोहसंगै गायनमा होमिएकी मनिताले विगत दुई बर्षयता शास्त्रीय संगीत समेत लिईरहेकी छिन् । एकल एल्बमको तयारीमा जुटेकी मनिताले एक बर्ष अगाडी पहिलो गीत गजल “नजर के जुधेको थियो” मा स्वर दिएकी थिइन् । सो गीतमा हरी लम्सालको संगीत, सुनिल दिप्त राईको शब्द रचना थियो ।
सो गीतबाट सांगीतिक आकाशमा उदाएकी गायिका मनिताको दोस्रो गीत “सिरूपाते खुकुरीको लाहा छ कि छैन ?” मार्फत सांगीतिक क्षेत्रमा छुट्टै परिचय बनाउने उनको ध्येय छ । स्वदेशका साथै विदेशमा रहेका नेपालीहरुले समेत उनका गीतहरु निकै रुचाएका छन् । तारा प्रकाश लिम्बुको संगीत, सुनिल दिप्त राईको शब्द रचना रहेको उक्त गीत एल्बमको शिर्ष गीत समेत रहेको छ । एल्बममा ७ वटा गीत समावेश हुने छन् । जसमा एकल शब्द रचना सुनिल दिप्त राईको सुन्न सकिने छ भने संगीत तारा प्रकाश लिम्बु, हरी लम्साल, बसन्त सापकोटा, डीड्डआर अटु पुष्कर सुनुवारको रहेको छ ।
एल्बम ‘सिरूपाते खुकुरी’ को तयारीमा रहेकी गायिका मृदुभाषी, सरल, सुरिलो स्वरकी धनी, नरम र मिजासिली एवं सबै संग सजिलै भिज्न सक्ने स्वभावकी छिन् । उनलाई नजिकबाट चिन्नेहरु मनिता रुप जस्तै मनको पनि सुन्दर र पवित्र उद्देश्य लिएकी गायिका हुन् ।
भर्खरै सार्वजनिक भएको गजल ‘पर्दैन तारा खसाउनु’लाई दर्शक श्रोताहरूले रूचाई रहेको बेला अर्को चर्चित गीत ‘आँशु रैछ जिन्दगी, यो संधै रूनु पर्ने’ उनले रेकर्ड गर्ने अबसर पाएकी छिन् ।
करिब ९ बर्ष अगाडी रेकर्ड भएको ‘गीत आँशु रैछ…’ मा रजिना रिमाल र नेपाली तारा सन्तोष लामाले स्वर दिएका थिए । कलेक्सन एल्बममा रहेको उक्त गीत यसपटक भने मनिता राईले आफ्नो एल्बममा समावेश गर्ने भएकी हुन् । आशा लाग्दो गीतहरूको सिर्जना भएकोमा गायिका दंग छिन् । शब्द नै पहिलो रोजाईमा पार्ने गायिका मनिताले संगीतकार समेत छान्न जानेको देखिन्छ ।
मनिताको सुरिलो स्वर, गम्भीर शैली र संगीतप्रतिको गहन लगाव देख्ने र सुन्नेहरु उनी भविष्यमा राम्रो प्रतिभाका रुपमा स्थापित हुने बताउँछन् ।