शिशुलाई स्तनपान गराउँदा प्रहरीको बढुवा
अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलाई स्तनपान गराउँदा वढुवा भएकी छन् । ड्युटीमा खटिएकी सिलिसटे अयाला नामकी ती महिलाले प्रहरी पोशाकमै स्तनपान गराइरहेको तस्विर सार्वजनिक भएपछि उनको बढुवा गरिएको छ ।
अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए । उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन् । उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्तनपान गराएकी थिइन् । सिलिसटेको १६ महिने छोरी छन् ।
सिलिसटेले एक स्थानीय संचारमाध्यमलाई भनिन् ’मैले कुनै संकोचबिना सो बच्चालाई स्तनपान गराएँ र उ शान्त भयो ।’
सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए । तस्विर पोस्ट भएलगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो ।
बुइनोस् एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका हुन् । रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालाई यस्तै प्रहरी प्रशासन चाहिएको प्रतिक्रिया दिएका छन् ।