स्थानीय तह तीन वर्षसम्म लथालिंग नै रहने

काठमाडौं÷ राज्य पुनर्संरचनासँगै स्थानीय तहका कार्यालय भद्रगोल छन् । कतै ३ वटा वडा कार्यालय एउटै भवनमा संचालन गरिएको छ, कतै २ वटा । कहीं वडा कार्यालयका लागि घर भाडा लिएर चलाइएको छ ।
पुनर्संरचनापछि मुलुकमा ७ सय ५३ स्थानीय तह र ६ हजार ६ सय ६८ वडा कार्यालय छन् । ती मध्ये अधिकाँश वडा भवनविहीन छन् । आफ्नै भवन नहुँदा कार्यालय संचालन गर्न समस्या भएको छ ।
स्थानीय तह अझै केही वर्ष यस्तै अवस्थामै गुज्रिने स्थिति देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वषभित्र सबै स्थानीय तहको भवन निर्माण गर्ने योजना बनाएको छ ।
भवनका लागि स्थानीय तहले ५ देखि १५ करोड रुपैयाँ पाउने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘तीन वर्ष भित्रमा सबै तहमा आफ्नै भवन बन्छ’ उनले भने– ‘त्यसका लागि बजेट विनियोजनको तयारी गरिरहेका छौ ।’
मन्त्रालयले रकम बाँड्न ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई ८ करोड र गाउँपालिकालाई ५ करोड रुपैयाँ दिने योजना अघि सारेको छ ।
मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गर्ने योजना बनाएको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन १ करोड ५० लाख र गाउँपालिकाको वडा कार्यालय बनाउन १ करोड दिइने उल्लेख छ ।