चिकित्सकहरुकोे आन्दोलन सोमबारसम्मका लागि स्थगित

काठमाडौं– मुलुकी अपराध संहिता ऐन, २०७४ को केही दफामा विमति जनाई आन्दोलनरत नेपाल चिकित्सक सङ्घले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

सङ्घ र सरकारबीच सोमवार अबेरसम्म भएको वार्तामा सङ्घले उठाएका मागका विषय मन्त्रिपरिषद्मा लाने सहमति भएपछि सङ्घले आगामी सोमवार (भदौ २५) सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा हाल स्वास्थ्यमन्त्री देशबाहिर रहेको र मन्त्री आउनासाथ सङ्घका माग मन्त्रिपरिषद्मा दर्ताका लागि लैजाने भन्ने सहमति भएको छ ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठले आगामी सोमवारसम्म माग मन्त्रिपरिषद्मा लैजाने लिखित सहमति भएको बताए । उनका अनुसार, ‘सोमवारसम्म पनि संशोधन प्रक्रिया अघि बढाइएन भने आगामी मङ्गलवारदेखि आन्दोलन यथावत् अघि बढ्नेछ ।’

चिकित्सकको माग ?
नेपाल चिकित्सक सङ्घले मुलुकी अपराध संहितामा भएको सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए या नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाई छानविन गर्नुपर्ने माग गरेको छ । काममा खटिएका बेला स्वास्थ्यकर्मीमाथि हातपात भए हातपात गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली २०६९ अनुसार कारबाही गरिने हालको प्रावधानलाई संशोधन गरी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गर्न पनि सङ्घले माग गरेको छ ।