सैन्य अभ्यासका कुरा मुलुकको हित विपरीत हुने

काठमाडौँ- सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताउनुभयो ।

प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद रावलले भन्नुभयो, “भारतको पुनामा बिम्स्टेक मुलुकका प्रधान सेनापति सँगको बैठक र संयुक्त सैन्य अभ्यासका विषयमा कुरा सुनिएको छ, आर्थिक विकासका लागि गठन भएको क्षेत्रीय सङ्गठनमा सैन्य अभ्यासका कुरा आउनु हुँदैनथ्यो, यस्ता कदम मुलुकको हित विपरीत हुन जान्छ ।”

“क्षेत्रीय सङ्गठनको भन्दा हामीले हाम्रो मुलुकको हित र सार्वभौमसत्ताको विषयलाई हेक्का राख्नुपर्छ, आफ्नो देशको सम्बेदनशीलतालाई बिर्सिएर सार्क वा बिम्स्टेक सदस्य मुलुकका एजेण्डामा बहकिनु हुँदैन, सैन्य अभ्यास ठीक होइन” सांसद रावलले भन्नुभयो ।

सांसद अमरेशकुमार सिंह विरोधस्वरुप सरकारका मन्त्रीलाई कालो झण्डा देखाउँदा मृत्युवरणसम्मको सजाय भोग्नुपर्ने परिस्थितिले लोकतन्त्रको सबलीकरणमा योगदान पुग्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद् प्रेम सुवालले बिम्स्टेक सदस्य मुलुकका सेनाको संयुक्त अभ्यासबाट मुलुकको कदापी हित हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।