प्राधिकरणका अध्यक्ष झाले सम्हाले कार्यभार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाले पद सम्हालेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल वास्कोटाले झालाई पद तथा गोपनीयताको सपथ गराएपछि आइतबार झाले पद सम्हालेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई अध्यक्ष नियुक्त गरेको हो थियो ।
प्राधिकरणको अध्यक्षका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन खुल्ला गरेको थियो । उक्त आवेदनमा झा लगायत दर्जनौले निवेदन दिएका थिए । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजकत्वको समितिले झासहित तीनजनाको नाम भदौ १३ गते मन्त्रिपरिषद्मा पठाएको थियो ।
गुरुङ संयोजकत्वको समितिले प्राधिकरणको अध्यक्षका लागि झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनालको नाम सिफारिस गरेको थियो ।
निर्वाचन आचारसंहिता लागू भएपछि र काम चलाउ हैसियतमा पुगेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्तिहरु केपी ओली सरकारले असार २० गते एकमुष्ठ रुपमा खारेज गरेको थियो । सोही नियुक्ति खारेजीमा झा पनि परेका थिए । समयावधि बाँकी हुँदै हटाइएको भन्दै न्याय माग्न पुगेका झालाई सर्वोच्चले सुनुवाई गर्दै काममा फर्कन अन्तरिम आदेश दिएको थियो । तर झाले सरकारले गरेको निर्णय आफूलाई मान्य हुने भन्दै सर्वोच्चको अन्तरिम आदेश आएको भोलिपल्ट निवेदन दिएर रिट फिर्ता लिएका थिए ।
५ वर्ष प्राधिकरणको नेतृत्व सम्हालेका झालाई देउवा सरकारले पुनः जिम्मेवारी दिएको थियो ।