जनमैत्री कार्यसम्पादनमा कर्मचारी क्रियाशिल हुनुपर्नेमा जोड
पाल्पा÷ कर्मचारीहरु जनमैत्री कार्यसम्पादनमा क्रियाशील हुनुपर्ने कुरामा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले कर्मचारीहरू जनताको प्रतिनिधि भएकोले आचरण, कार्यसम्पादन, जनमुखी र मीतव्ययी हुन कर्मचारीहरुलाई आग्रह गरेका हुन् ।
शुक्रबार जिल्लामा ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नारासहित निजामती दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । पाल्पामा पनि विभिन्न कार्यक्रमसहित यस वर्षको निजामती दिवस मनाइएको हो । दिवसको अवसरमा तानसेन नगरमा प्रभातफेरी सहित सभा आयोजना गरी मनाइयो । साथै सोही अवसरमा कर्मचारी मिलन केन्द्रले सेवा निवृत्त निजामती कर्मचारीहरूलाई सम्मान पनि ग¥यो । कार्यक्रममा जिल्ला न्यायाधीश शंकरराज बरालले कर्मचारी राष्ट्रको स्थायी अंग भएकोले निष्ठापूर्वक राष्ट्र सेवामा समर्पित हुनुपर्नेमा जोड दिए । उनले कर्मचारीको कार्यसम्पादनका सिलसिलामा मानवीय त्रुटीहरू हुनु स्वभाविक भएको भन्दै कर्मचारीहरू आलोचनामुक्त हुन नसक्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले निजामती सेवाप्रति जनचासो बढाउन र कार्यसम्पादनलाई प्रभावकारी बनाउन निजामती सेवा दिवस मनाउँदै आएको बताए । उनले जनताको करबाट सुविधा लिने कर्मचारीहरू जनमैत्री कार्यसम्पादनमा क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कर्मचारी मिलन केन्द्र पाल्पाका अध्यक्ष मोतीलाल पोखरेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्याल लगायतले राष्ट्रसेवकका रुपमा रहेका कर्मचारीहरू सेवाग्राहीलाई सेवाप्रवाहमा नियमसंगत लाग्न आग्रह गरे ।
रामपुरमा पनि निजामती दिवस मनाईएको छ । कर्मचारी मिलन केन्द्र रामपुरले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख रमणबहादुर थापाले स्थानीय तहमा सुशासन कायम गर्न कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले मुलुकलाई अग्रगतिमा अघि बढाउन कर्मचारीले मुख्य भूमिका खेल्ने बताए । मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने कुरा कर्मचारीमा निर्भर रहेको समेत नगर प्रमुख थापाले उल्लेख गरे । थापाले जननिर्वाचित प्रतिनिधिले मुलुकलाई कुन गतिमा लैजाने भन्ने निर्देशन दिने भए पनि कार्यान्वयनको चरणमा भने कर्मचारीको नै महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा मालपोत कार्यालय रामपुरका प्रमुख घनश्याम अर्यालले कर्मचारीले सरकारले तोकेको ऐन नियमको परिधिमा रहेर कार्य सम्पादन गरेमा सुशासन आफै कायम हुने बताए ।