आज हरितालिका तीज धुमधामका साथ मनाईदै

काठमाडौं– हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् ।

परापूर्व कालमा हिमालय की पुत्री पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेपछि महादेव पति पाएको किम्वदन्ति अनुसार आजका दिन हिन्दु महिलाहरुले त्यसको अनुसरण गर्दै आएका छन् ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

सौभाग्यको प्रतिक मानिने रातो चुरा हिरो पोते रातो साडि चोली ब्लाउज सिन्दुर लगायतका श्रृङगारले सजिएर महिलाहरुले आज दिनैभरी नाचगान गरेर रमाइलो गर्छन । बेलुका पुजा गरेर फलफुल दहि दुध वा यस्तै प्रकारका खाना खाने गरिन्छ । रमाइलो गर्ने क्रममा उनिहरुले माइति र आफ्नो घरका आफन्तलाई गीतका मार्फतबाट घोचपेच समेत गर्ने गर्छन् ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीजको अवसरमा सरकारले महिलाका लागि आज सरकारी बिदा दिएको छ।

केही वर्षयता तीज आउनुअघि नै भड्किलोरूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता पनि गर्न थालिएको छ। अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने आम महिलाले बताएका छन्।