खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी
रोल्पा – जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् ।
खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले रु दुई करोड ३९ लाख ८६ हजार आम्दानी गरेका छन् । जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६ किलो खोटो बिक्री गरेका थिए ।
खोटो बिक्रीबाट सामुदायिक वनका अतिरिक्त स्थानीय तह तथा सङ्घीय सरकारलेसमेत राजश्व सङ्कलन गर्दै आएका छन् ।
सामुदायिक वनले खोटो निकासी वापत जिल्ला विकास समितिलाई प्रतिकिलो ८० पैसाका दरले रु ३१ लाख १८ हजार राजश्व बुझाएका थिए ।
यसैगरी मूल्य अभिवृद्धि करबापत सरकारी कोषमा रु १९ लाख १८ हजार जम्मा भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
विगतमा जिल्ला विकास समितिलाई उपलब्ध गराउँदै आएको स्थानीय कर अव स्थानीय तहलाई बुझाउनु पर्ने छ। अधिकांश विद्यालय सञ्चालनको स्रोत सामुदायिक वन भएका छन् ।
जिल्लामा गत असार मसान्तसम्म ६३७ सामुदायिक वन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक वनको ६४ हजार ४१८ हेक्टरमध्ये हालसम्म ५० हजार ६१२ हेक्टर समुदायलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।