अख्तियारद्वारा एकैपटक नौ प्रहरी पक्राउ

काठमाडौंः मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने, ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन् ।

दुई असइसहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’मा परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमी वृत्तका प्रहरी छन् । असइ गोपाल श्रेष्ठलाई आयोगले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्यस्तै, असइ सुवास ढुंगाना र हवल्दार दीपक भारती ४५ हजार रुपैयाँ घुससहित समातिएका छन् ।

प्रहरी हवल्दार उमेश यादव, अमन चौधरी, प्रहरी जवान दीपेन्द्र कुँवर र मुकेश पटेल ५–५ हजार घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । जवानद्वय रत्न रिजाल र मानसिंह रोका पनि ५ हजार घुस लिएको अवस्थामा समातिएका छन् ।

‘ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने गरेको सूचनाका आधारमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ,’ आयोगका प्रवक्ता दंगालले भने । स्रोतका अनुसार बालुवा ठेकेदारहरूसँग उनीहरूले महिनावारी पैसा बुझ्ने गरेका थिए ।

जो रंगेहात समातिए
-असइ सुवास ढुंगाना– ४५ हजार
-हवल्दार दीपक भारती– ४५ हजार
-असइ गोपाल श्रेष्ठ– ३० हजार
-हवल्दार उमेश यादव– ५ हजार
-हवल्दार अमन चौधरी– ५ हजार
-जवान दीपेन्द्र कुँवर– ५ हजार
-जवान मुकेश पटेल– ५ हजार
-जवान रत्न रिजाल– ५ हजार
-जवान मानसिंह रोका– ५ हजार

नयाँ पत्रिका दैनिकबाट ।