सेवाग्राहीलाई राम्रोसित सम्झाइ–बुझाइ गर्छौं
– रुद्रुदेवी पौडेल (सूचना अधिकारी– घरेलु तथा साना उद्योग कार्यालय, चितवन)
घरेलु तथा साना उद्योग कार्यालय चितवनमा अहिले रुद्रुदेवी पौडेल सूचना अधिकारी हुनुहुन्छ । कतिपय अवस्थामा उहाँले निमित्त प्रमुखको जिम्मेवारी पनि समाल्नु भएको छ । यस कार्यालयमा पौडेल निकै सक्रिय र सहयोगी अधिकृत हुनुहुन्छ । उहाँले सेवाग्राहीलाई पाको काम गर्न सघाउनुहुन्छ ताकि पछि अप्ठेरो नपरोस् । यसै सेरोफेरोमा शिशिर सापकोटाले उहाँसँग गरेको कुराकानी आजको अंकमा ।
तपाईं कहिलेदेखि यस कार्यालयमा हुनुहुन्छ ?
करिब तीन वर्ष भयो ।
यस कार्यालयले के कस्ता कार्य गर्दै आएको छ ?
लघु उद्यम, घरेलु उद्योग र साना उद्योग दर्ता गर्ने । तिनको नवीकरण गर्ने, ठाउँसारी गर्ने, नामसारी गर्ने, लगतकट्टा गर्ने प्रतिलिपि दिने लगायतका कार्य यस कार्यालयका जिम्मेवारी हुन् ।
आर्थिक वर्ष ०७४/७५ सम्मको प्रगति विवरण के कस्तो छ ?
यस अवधिसम्म उत्पादनमूलक ३११ कृषि तथा वनजन्य ६१९ पर्यटनमूलक २३२ सेवामूलक २८६ र विज्ञान तथा सूचना प्रविधिमा ३ गरी कूल १४५१ वटा उद्योग दर्ता भएका छन् । यसमा ८४६ वटा नवीकरण भएका छन् । केहीको नवीकरण गर्ने म्याद नै बाँकी होला, केही नवीकरण गर्न आउँदै होलान् ।
काममा ढिलासुस्तीको गुनासो कत्तिको सुन्नुभएको छ ?
सुनिन्छ । खासमा सेवाग्राहीले आवश्यक कागजात नपु¥याई ल्याउनुहुन्छ अनि हामीले यो पुगेन भन्नु पर्छ । त्यसो भन्दा उहाँहरूलाई हामीले ढिलो गर्दिए जस्तो लाग्छ । हामीले त प्रक्रिया पुग्ने कामलाई एकछिन पनि अल्मल्याएका छैनौं । सेवाग्राहीलाई ढिला होला भनेर हामीले चिया खाजासमेत मीठो नमीठो जे होस् भनेर यहीँ भित्र व्यवस्था गरेका छौं । सेवाग्राहीको गुनासोे सुन्नु पर्छ भनेर म त कहिलेकाहीँ कार्यालय प्रमुखको जिम्मेवारी अन्तर्गत निमित्त पाएको बेलामा जिल्लाका कार्यालय प्रमुखहरूको बैठकमा समेत नगई अरुलाई पठाउने गरेकी छु । अनि अर्को कुरा के पनि हो भने प्रायः उद्योगहरू अन्य निकायसँग अनुमति लिएर मात्र दर्ता गर्नुपर्ने हुन्छ त्यसमा पनि समय लाग्छ । यो जिल्ला त झन् मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले त्यहाँको अनुमति जरुरी नै हुन्छ ।
गुनासो कम गर्ने अन्य कुनै उपाय पनि छ कि ?
अहिले लघु उद्यमलाई निश्चित क्षेत्रमा निःशुल्क गर्ने सरकारी नीति आएकाले यहाँ त्यसका लागि भिड बढेको छ । हामीकहाँ १० जनाको दरबन्दीमध्ये अहिले ९ जना छौं । दरबन्दी ‘पूmलफिल’ हुन ढिला नहोला । मूलतः उद्योग दर्ता गर्न भनेर आउनेलाई आवश्यक कागजातका बारेमा राम्रोसित सम्झाएर बुझाएर हतार नगर्नुस् बरु राम्रोसित कागजपत्र हेरेर ल्याउनुस् त्यसले तपाईंहरूको दुःख पनि कम हुन्छ, आतेजाते खर्च पनि कम हुन्छ, पछिसम्म काम गर्न सजिलो हुन्छ भनेर सुझाव दिनुबाहेक अर्को विकल्प अहिलेलाई देखिएको छैन । अर्को कुरा के छ भने अहिले धेरैजसो सिफारिस वडा कार्यालयबाट नै आउँछन् ती सिफारिसमा पनि धेरै गल्ति भेटिन्छ । त्यस्ता गल्ति नहुनबाट जोगिन वडा कार्यालयका कर्मचारी पनि सचेत हुनु जरुरी छ । हामी त धेरै वर्षदेखि यसैमा कार्यरत रहेर अभ्यस्त भएका छौं । उहाँहरूबाट त्यस्तै अपेक्षा राखेर कागजात पुगेन भनेर झर्किनु हुन्न भन्ने ज्ञानले सम्झाउनु बुझाउनु नै पर्छ भनेर हाम्रो मिहिनेत जारी छ ।
र, अन्त्यमा के भन्न चाहनु हुन्छ ?
हामी राष्ट्रसेवक कर्मचारी हौं । सरकारको ऐन, नियम अनुसारको कार्य गर्नु हाम्रो पद अनुसारको जिम्मेवारी हुन्छ । हाम्रो मर्जीले गर्ने वा नगर्ने भन्ने हुँदैन । सरकारको नीति अनुरुप काम गर्ने क्रममा प्रक्रिया पु¥याउँदा हुने ढिलाइलाई सेवाग्राहीले अन्यथा ठान्नु हुँदैन । जानाजान कसैले ढिला गर्न खोज्यो भने कार्यालय प्रमुखसमक्ष गुनासो गर्न सक्नुहुन्छ । सकेसम्म कागजात पु¥याएर ल्याउनमा सेवाग्राही सचेत होउन् भन्ने मेरो सदिच्छा छ । साथै, यी कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।