मलेशियामा विषाक्त मदिरा सेवनले ६ नेपालीको मृत्यु
काठमाडौं मलेशियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवनपछि बिरामी र मृत्यु हुने संख्या २२ पुगेको छ। जसमध्ये मृत्यु हुने ६ नेपाली को पनि पहिचान खुलेको छ ।
विषाक्त मदिरा सेवन गर्ने नेपालीमध्ये ६ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी अवस्थामा अस्पतालमा भेटिएका थिए ।
विषाक्त मदिरा सेवनपछि बिरामी परी उपचारको लागि अस्पताल जानेक्रममा वा उपचाररत रहँदा हालसम्म मृत्यु हुनेहरुमध्ये ६ जना र अस्पताल भर्ना भएकाहरुमध्ये १६ जना नेपाली रहेको पुष्टि भएको छ,” मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विषाक्त मदिरा सेवन गरेर मृत्यु भएका नेपालीहरु
१.धादिङ बसेरी–३ का मिमबहादुर घले
२.रुपन्देही मसिना–६ का रामकुमार यादव
३.डडेल्धुरा अमरगढी–५ का विशाल बुढाथोकी
४.सुनसरी पश्चमकुसाहा–९ का संजय उराव
५.इलाम सिद्धिथुम्का–९ का बलबहादुर कुलुङ
६.ठेगाना खुल्न नसेकेका आइत सिंह गोले
मलेशियाको सेलांगोर राज्यका विभिन्न स्थानमा सोमबार विषाक्त मदिरा सेवन गर्दा नेपालीहरुको मृत्यु तथा बिरामी परेका हुन् । मंगलबार स्थानीय मिडियामा मदिरा सेवनपछि नेपालीको मृत्यु र बिरामी भएको खबर आएपछि त्यहाँस्थित नेपाली दूतावासले घटनाका विषयमा जानकारी लिन सुरु गरेको थियो ।
दूतावासका पदाधिकारीले बढी नेपाली बिरामी रहेका कजांग र सुंगाईबुलो अस्पतालको भ्रमण गरी नेपालीको अवस्था बुझेका थिए ।