दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धिः व्यवसायी मख्ख, जनाता मारमा

काठमाडौं-  सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर देशभर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो ।

सहमतिअनुसार भोलिबाटै यातायात व्यवस्था विभागले नयाँ भाडादर कायम गर्ने जनाएको छ । हाल कायम भाडामा १० प्रतिशत मूल्यवृद्धि गरी असोज ७ बाट लागू गर्ने र २०७५ मंसिर २९ गतेसम्ममा वैज्ञानिक भाडादर समायोजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको आजको कारोबार दैनिकमा समाचार छ ।

शुक्रबारदेखि दशैंको लागी बुकिड खोल्ने भने पनि यातायात ब्यवसायीले भाडा समायोजन गर्ने माग राख्दै आएका थिए । त्यसैबिच नेपाल आयल निगमले फेरि इन्धनको मुल्य बृद्धि गरेपछि यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेका थिए ।

विभागले समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि गरेको छ ।

शनिबार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । यसअघि सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।