राष्ट्रकवि घिमिरेलाई घरमै पुगेर राष्ट्रपतिले दिइन जन्मदिनको शुभकामना
काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०० औं वर्ष प्रवेश गरेका छन् ।
१००औं वर्ष प्रवेशका अवसरमा राष्ट्रकवि घिमिरेले आज घरमै पूजापाठ गरेका छन् । उनलाई १००औं वर्ष प्रवेशको शुभकामना दिन काठमाडौंको कपुरधारास्थित निवासमा बिहानैदेखि भीड लागेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि घिमिरेको निवासमै पुगेर शुभकामना दिएकी छन् ।
विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, सरकारी वरिष्ठ अधिकारीहरुसमेत निवासमै पुगेर उनलाई शुभकामना दिइरहेका छन् ।
स्वच्छन्दतावादी भावधारा र परिस्कारवादी शैली भएका कुशल नेपाली साहित्यका कवि र गीतकारसमेत रहेका राष्ट्रकवि घिमिरे अहिले पनि सक्रिय छन् । उनले विभिन्न कृति सार्वजनिक गरिसकेका छन् ।
सानै उमेरदेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाब्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाउँदै घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।
उनी हाल काठमाडौंको कपुरधारामा बस्दै आएका छन् ।