कुलतमा लागेका युवालाई कुलतबाट छुटाउन प्लास्टिक घरभित्र तरकारी खेती
बलेवा- सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले कुलतमा लागेका युवालाई कुलतबाट छुटाउन प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ ।
जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन् ।
कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो ।
यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडा उत्पादन दोब्बर गर्न सकिने भएकाले प्रविधि भित्र्याइएको भारीले बताउनुभयो ।
प्लाष्टिक घरतर्फ किसानलाई आकर्षित गर्न योजना बनाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।