गरिबलाई छैन बर्को, राज्यको ढुकुटीले विदेशमा लर्को

भ्रमणमा २४ करोड स्वाहा

काठमाडौं / भूकम्प गएको तीन वर्ष बित्दा पनि पीडितहरुले राहत पाएका छैनन् । भएको भवन भत्किएर र पैसा अभावले नयाँ बनाउन नसक्दा भूकम्पपीडितहरु अझै टहरामै बस्न बाध्य छन् । तराईमा बाढीपीडितहरुको हालत त्यस्तै छ । उनीहरु पालमै जीवन गुजारी रहेका छन् । भूकम्प र बाढीपीडितको नाममा पटक पटक राहत नबाँडिएको होइन तर राहत टाँठाबाठाले पाए । निमुखा र गरिबले भने कतिपय ठाउँमा एउटा कम्मल तथा बर्को समेत पाएका छैनन् ।
राज्यको ढुकुटी मानिने अर्थ मन्त्रालयले बेलाबखत भूकम्प तथा बाढीपीडितलाई प्रयाप्त मात्रामा राहत दिन रकम नभएको बताउने गरेको छ तर यही मुलुकमा नेता तथा कर्मचारीहरु राज्यको खर्चबाट विदेश घुम्न जाने गरेका छन् । नेता तथा कर्मचारीहरु विभिन्न कामको बहाना देखाएर विदेश जाने क्रम बढेपछि त्यसले मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । त्यो अवस्था सार्वजनिक भएपछि सरकारले कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय समेत गर्यो । सरकारी खर्चमा विदेश गएका केही कर्मचारीलाई स्पष्टीकरण समेत लिइयो तर नेता तथा कर्मचारीहरु दलबलसहित विदेश जाने क्रम अझै रोकिएको छैन । नेताहरुको विदेश भ्रमण भने बढेको छ ।
दुई सातायता मुलुकका अधिकाँश नेताले विदेश भ्रमण गरे । एक दर्जन नेता अहिले पनि विदेशमै छन् । आधा दर्जन नेता अझै विदेश जाने तयारीमा छन् ।
प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन चीन भ्रमणका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट केही दिनअघि फर्किएका छन् । अर्का पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा नेतृ पम्फा भुसालको टोली अफ्रिका भ्रमणमा छन् । उनीहरु सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा भएको पूँजीवाद र साम्राज्यवादी सम्मेलनमा भाग लिन त्यहाँ गएका हुन् ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि गत साता चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । सञ्चार तथा सूूचना प्रविधिमन्त्री गोकुुल बास्कोटा पनि इथियोपियामा विश्व हुुलाक संघको दोस्रो सम्मेलनमा सहभागी भएर २३ भदौमा स्वदेश फिर्ति भएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत भ्रमण पूरा गरी केहीदिन अघि मात्रै स्वदेश फर्किएका छन् । विदेश भ्रमणको लर्कोमा राजनीतिक दलका नेताहरू मात्र नभएर मुख्यमन्त्री पनि छन् । गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वय पृथ्वीसुब्बा गुरुङ र महेन्द्रबहादुर शाही चीन जाने तयारीमा छन् । नेकपाका नेता मात्रै नभएर अन्य दलका नेताहरुको पनि विदेश भ्रमण बढ्दो छ ।
कांग्रेस नेता मिनेन्द्र रिजालको नेतृत्वमा १४ सदस्यीय टोली चीन भ्रमणमा निस्किएका छन् भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल युरोपमा छन् । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक महिनाका लागि पत्नी हिसिलासहित अमेरिकामा छन् ।
भ्रमणमा २४ करोड स्वाहा
नेता तथा कर्मचारीले विदेश भ्रमण गर्दा गत आर्थिक वर्षमा २४ करोड रुपैयाँ सकिएको छ ।
गत आर्थिक वर्षमा ८ सय ४६ कर्मचारीले विश्वका विभिन्न देश शयर गरे । उनीहरुको भ्रमण बिल जम्मा २३ करोड ९७ लाख २५ हजार २ सय २२ रुपैयाँ सरकारले भुक्तानी दिएको छ । यतिमात्र होइन १५ निकायले त विदेश भ्रमणको विवरण नै लुकाएका छन् ।
सबैभन्दा बढी विदेश भ्रमणमा अर्थ मन्त्रालयले ४ करोड ५६ लाख रुपैयाँ सकाएको छ भने सबैभन्दा कम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ करोड १६ लाख रुपैयाँ सिध्याएको छ । विदेश भ्रमणमा बढी खर्च गर्नेमा यी दुईसहित पुनर्निर्माण प्रािधकरण, परराष्ट्र मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छन् ।