न्यायाधीश जोशीविरुद्ध नेकपाको अर्को गोटी

गल्ती नदोहोर्‍याउनुस् कांग्रेसको सुझाव

काठमाडौं / आफू भन्दा एक तह मुनिका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेपछि पनि वरिष्ठ न्यायाधीश दिपकराज जोशी सर्वोच्च अदालत फर्किए । न्यायाधीश जोशी प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिले अनुमोदन नगरेपछि बिदामा बसेका थिए ।
लामोसमय बिदामा रहेका जोशी मिश्र प्रधानन्यायाधीश बनेको भोलिपल्टै अदालत आउन थालेका हुन् । आफू भन्दा कनिष्ठ व्यक्ति प्रधानन्यायाधीश भए पनि जोशीले त्यसको कुनै प्रवाह नगरी अदालतको काम कारवाही शुरु गरेका छन् । मिश्र प्रधानन्यायाधीश भएपछि जोशीले राजीनामा दिने राजनीतिदेखि न्यायालयसम्म धेरैको अनुमान थियो । तर जोशीले भने राजीनामा नदिई खुरुखुरु काम गर्न थाले । उनी अहिले प्रधानन्यायाधीशपछि दोस्रो वरियतामा छन् ।
जोशी काममा फर्केपछि त्यसले राजनीति र न्यायालयमा फेरि अर्को भुईचालो गएको छ । स्रोतका अनुसार अहिलेका प्रधानन्यायाधीश मिश्र उमेर हदले केही महिनामै सेवा निवृत्त हुने छन् । त्यसपछि फेरि जोशी नै कायममुकाम प्रधानन्यायाधीश हुनेछन् । त्यस्तो अवस्थामा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीलाई केही अप्ठ्यारो पर्न सक्छ ।
संभावित त्यस्तो अवस्था आउन नदिन जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ ।
नेकपा निकट स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीशको दौडमा रहेका जोशीलाई संसदीय सुनुवाई समितिले बहुमतले निर्णय गर्दै अबदेखि काममा नफर्कन भनेको थियो ।
संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई दुई तिहाईले अस्वीकृत गरेको थियो । संसदीय समितिले सर्वोच्चमा नफर्कन आग्रह गरे पनि जोशीका नाममा पेशी तोकिएपछि नेकपाले उनलाई फेरि महाअभियोगको तयारी गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार जोशीलाई महाअभियोग लगाएर न्यायाधीशबाट हटाउन नेकपाले यतिखेर सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।
हस्ताक्षर संकलनको जिम्मा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले लिएका छन् । नेकपाले जोशीविरुद्ध यसै साता महाअभियोगको प्रस्ताव दर्ता गर्ने योजना बनाइरहेको बुझिएको छ ।
महाअभियोग लगाउन संसदमा दुई तिहाई चाहिन्छ तर राष्ट्रिय जनता पार्टीका सांसदहरुको समर्थन बिना महाअभियोग सफल हुन सक्ने अवस्था छैन । राजपाले नेकपाका अध्यक्ष के.पी ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेपनि संविधान संशोधन र रेशम चौधरीको मुद्धालाई लिएर सरकारको आलोचना गरिरहेको छ । यस्तो अवस्थामा जोशी विरुद्धको महाअभियोग संसदबाट फेल हुन पनि सक्छ ।
उता जोशीले पनि महाअभियोग लगाए पनि त्यसको सामना गर्ने बताएका छन् । उनले सांसद संख्याको अवस्था बुझेर त्यस्तो बताएको हुन सक्छ । जोशीलाई सत्ता पक्षले न्यायालयबाट निकाल्ने जोडबल गरिरहेको छ तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अड्याउने कोसिस गरिरहेको छ । संसदीय सुनुवाई समिति बैठकबाट त्यसको पुष्टि भइसकेको छ । महाअभियोगमा पनि जोशीलाई नेपाली कांग्रेसले साथ दिने देखिएको छ । त्यही कारण जोशी महाअभियोगदेखि नडराएको बताइन्छ ।
गल्ती नदोहोर्‍याउनुस् कांग्रेसको सुझाव
यसैवीच प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सुझाव दिएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताउँदै महाअभियोग समान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको बताए । उनले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन आग्रह नेकपा र सरकारलाई आग्रह गरेका छन् ।
कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दण्ड पनि दिएको स्मरण गरे ।