बाबुरामलाई अमेरिकामा कालो झण्डा, होला त दिमाग ठण्डा ?
काठमाडौं÷ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबाराम भट्टराई यतिखेर अमेरिकामा बसेर नेपालको राजनीति बुझ्दैछन् । पूर्वप्रधानमन्त्री भट्टराई ‘समाजवाद र साम्यवाद’को गुण तथा दोषबारे एक महिनामा अमेरिकामा रहेर गहन अध्ययन गर्ने उद्देश्यले गतसाता पत्नी हिसिलासहित त्यहाँ गएका हुन् ।
अमेरिकामा बसेर विश्वमा राजतन्त्र तथा अन्य एकदलीय एवं निरंकुश शासन अन्त्य भएर गणतन्त्र स्थापना भएका मुलुकहरुको शुरुको अवस्था अध्ययन गर्ने डा भट्टराईको योजना छ । उनले त्यहीक्रममा नेपालको राजनीतिक अवस्था बारे पनि विस्तृत अध्ययन गर्ने योजना बनाएका छन् । मुलुकको राजनीतिक अवस्था बुझ्न अमेरिका छिरेका डा भट्टराई राजनीतिक कार्यकर्ताको चारित्रिक अवस्था भने शुरुमै अनुभव गरे, केही राजनीतिक कार्यकर्ताले आफू विरुद्ध कालो झण्डा लिएर ठिङ्ग उभिँदै नाराबाजी गरेपछि ।
डा. भट्टराईलाई अमेरिकामा केही युवाले कालो झण्डा देखाए । झण्डा देखाउँदै उनलाई ती युवाले हत्यारा भने, नेपाल फर्क भने । डिसी मेट्रोबाट टेक्सस जाने क्रममा बाबुराममाथि दुव्र्यवहार भएको हो ।
त्यसो भन्ने अमेरिकी सरकार, प्रहरी कोही पनि थिएन । उनीहरु नेपाली नै थिए । नेपाली भए पनि उनीहरु को थिए ? धेरैलाई चासो थियो । अमेरिकाबाट प्राप्त समाचार अनुसार, नेपालका पूर्वप्रधानमन्त्रीलाई कालो झण्डा देखाउने नेपालीहरु थिएः ओम भट्टराई, सन्तोष विष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती । यीमध्ये भट्टराई आफूलाई तरुण दल अमेरिकाको अध्यक्ष बताउँछन् । अरु पनि नेपाली कांग्रेसको भ्रातृसंगठन जनसम्पर्क समिति अमेरिकाका सदस्यहरु हुन् र नेपाली कांग्रेसका कार्यकर्ता नै हुन् ।
बाबुराम भट्टराईले आफ्नो ट्विटमा भनेका छन्, ‘यो कस्तो पत्रकारिता हो कुन्नि ! पाँचसय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोधचाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो….’ अनि देश कसरी समृद्ध बनोस् ?’
राजनीतिक उद्देश्यले अमेरिका गएका भट्टराईलाई कालो झण्डा देखाएर हत्यारा भन्ने पाँच नेपाली युवाको नेपालमा पनि विरोध भएको छ । जनयुद्ध एउटा राजनीतिक मुद्दा भएकाले त्यही मुद्दामा टेकेर धेरै नेपाली आफूलाई ‘माओवादीपीडित’को नक्कली समाचार छपाएर विदेशमा नक्कली शरणार्थी बनेर सक्कली जीवन बिताइरहेकोमा शंका छैन ।
तर देशको प्रधानमन्त्री भएको व्यक्तिलाई कालो झण्डा देखाउने कामले नेपालीको बेइज्जत भएकाले ती पाँच युवालाई कारबाही गर्न सामाजिक सञ्जालमा माग पनि भएको छ । केहीले भद्दा शब्द प्रयोग गर्दै पाँच युवालाई सत्तोसराप गरेका छन् ।
सबैभन्दा रमाइलो विषय त यो छ कि, अमेरिकामा रहेका कांग्रेसीजनबाट भट्टराईमाथि दुव्र्यवहार भयो । नेपालमा भने भट्टराई कांग्रेसकै पक्षमा उभिन्छन् अचेल । त्यतिमात्र होइन, गोरखाबाट निर्वाचन जित्दा पनि उनी नेपाली कांग्रेसकै सहयोगमा विजयी भएका हुन् । अमेरिकामा कालो झण्डा देखाउने र हत्यारा भन्ने पाँच युवाबारे कांग्रेसको धारणा कहिले आउला ? चासोको विषय बनेको छ ।