तीन फिल्मको भिडन्त, कसले मार्ला बाजी ?

चार्डपर्व वा धेरै दिन विदा परेको समयमा फिल्म चलाउन चाहन्छन् निर्माताहरु । हरेक हप्ता एकदुई वटा फिल्म प्रदर्शन मिति जुध्ने गरेको छ । कहिलेकाही मात्र एउटा मात्र चलचित्रले मौका पाउने गरेको छ । एउटा मात्र चलचित्र प्रदर्शन गर्न पाउनुलाई निर्माताहरु आफूलाई भाग्यमानी ठान्छन् ।
हिन्दुहरुको महान चार्ड दशैतिहार नजिकदै गएको र यसको रौनक सुरु हुन थालेका बेला यो हप्ता एकै पटक तीन फिल्म प्रदर्शनमा आएका छन् । यो शुक्रबार बाँध मायाले, धुम–३ र इन्टु मिन्टु लन्डनमा एकसाथ प्रदर्शन भएका छन् ।
‘बाँध मायाले
चलचित्र ‘बाँध मायाले’ सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्माण समूहको छ । पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ र नायक आर्यन अधिकारीको मुख्य भूमिका रहेको यो चलचित्रले सिंगल र मल्टिप्लेक्समा राम्रो कमाई गर्ने अपेक्षा गरिएको निर्देशक श्रेष्ठको दावी छ ।


यो फिल्ममा सृष्टि, आर्यनका साथै नवअभिनेता किशोर खड्का, राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङलगायतले अभिनय गरेका छन् । रामहरि धिताल र विभीषिका श्रेष्ठद्वारा निर्मित फिल्ममा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सहनिर्माता रहेका छन् भने अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, बाबु श्रेष्ठको छायांकान र राजु ढुंगानाको सम्पादन रहेको छ ।
चलचित्रको गीतसंगीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएकाले पनि दर्शकले चलचित्र मन पराउने अपेक्षा गरिएको श्रेष्ठले बताएका छन् । दुई अनाथ यूवायूवतीको कथामा बनेको यो चलचित्रमा मायामा के सम्म हुन्छ र प्रेम भनेको के हो भन्ने सन्देश दिएको निर्देशक श्रेष्ठले बताएका छन् ।
फिल्म इन्टु मिन्टु लन्डनमा
लन्डन र नेपालका मनोरम दृश्यमा खिचिएकाले इन्टु मिन्टु लन्डनमाका दृश्यले दर्शकका आँखालाई लोभ्याउँने देखिन्छ । कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशनमा बनेको यो चलचित्रमा रोमान्टिक प्रेमकथा छ । प्रज्वल शमशेर जबरा र रेनेशा वान्तवा राईको कथा रहेको फिल्ममा आभाष कर्मचार्य र रेनेशा वान्तवा राईकै संवाद रहेको छ । आइकोर फिल्मसको ब्यानरमा प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्देशित फिल्ममा धिरज मगर, सारुक ताम्राकार, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईं, मेनिशा गुरुङलगायतले अभिनय गरेका छन् ।


वसन्त सापकोटा, संजिल कर्माचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनसमेतको संगीतकार रहेको फिल्म शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् भने कृष्ण भण्डारीको सम्पादन रहेको छ । निर्देशक रेनेशा वान्तवा राईले आफूले सधै गुणस्तरमा विश्वास गर्ने गरेको र इन्टु मिन्टु लन्डनमालाई परीक्षाका रूपमा लिएको बताएकी छिन् । दर्शकको प्रतिक्रिया हेर्दा राम्रो काम गरेको रहेछु भन्ने महसुस भएको राईले बताएकी छिन् ।
धुम ३
जयकिशन बस्नेतको लेखन निर्माण तथा निर्देशन रहेको धुम ३ हास्यप्रधान चलचित्र हो । जयकिशन बस्नेत फिल्म्स प्रालिको ब्यानरमा जान्हवी बस्नेत र ब्रबीन बस्नेतद्वारा प्रस्तुत फिल्ममा जयकिशनको साथमा एलिना रायमाझी, प्रज्वल गिरी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, शुरवीर पण्डित, सिमरन कार्कीलगायतले अभिनय गरेका छन् । फिल्ममा टंक बुढाथोकी र ओम सुनारको संगीत, हिमाल केसीको द्वन्द्व, जीवन श्रेष्ठको छायांकन तथा तुलसी बास्कोटाको सम्पादन रहेको छ । धुम – र २ जस्तै सफल हुने अपेक्षा जयकिशनको छ ।


मल्टिप्लेक्समा हिन्दी चलचित्रसँगै एकअर्काबीच भिडन्त गरेका यी तीन चलचित्र मध्ये कसले धेरै कमाइ गर्ला त्यो भने केही दिनमा प्रष्ट हुनेछ ।