रकमी धन्दाबाट रेकमबहादुर निलम्वित
तमसुक जफत, जग्गा फिर्ता
गुल्मी । रेकमबहादुरको ठगी धन्दा बारे समाचार सार्वजनिक भएपछि प्युठान वादीकोटका रेकमबहादुर खत्रीले गरिव सोझासाझीहरुलाई ऋण दिदै ठेकी काट्दै र ब्याजको स्याज गराउँदै आएको रकमी धन्दा सधैंका लागि अन्त्य भएको छ । उनले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदहका ७८ बर्षिय बृद्ध ज्ञानबहादुर घर्तिलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक गराई उनको १० रोपनी जग्गा भदौं ५ गतेका दिन जिल्ला मालपोत कार्यालयमा दृष्टि पास गराएका थिए ।
त्यस बिरुद्ध समाचार प्रकाशन र प्रशारण भए लगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीद्धारा पक्राउ परी आईतबार उनले उक्त १० लाख रुपैयाँ आफुले नदिएको गल्ती स्वीकार गर्दै घर्तिलाई आजै जग्गा फिर्ता गर्न मञ्जुर भएका छन् । शनिबार ईलाका प्रहरी कार्यालय पुर्कोटदहमा प्युठान झिम्रिक गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराले मोटरसाईकलमा ल्याई बुझाएका थिए । वडाध्यक्ष महतराले भने–‘मैले केही मिडियामा रेकमबहादुरको कर्तुतको खबर हेरे तब मलाई मेरै वडामा यस्तो मान्छे शैैह्य नलागेर समातेर रेकमबहादुरलाई पुर्कोटदह प्रहरी चौकीमा लगेर बुझाएको हुँ ।’
हात जोड्दै मैले पैसा दिएको हु“ भन्दै थिए
पुर्कोटदह प्रहरी चौकीमा बुझाईएका रेकमबहादुर उल्टै मैले न्याय पाउँ भन्दै भुँईमा लम्पसार हुँदै लडेर भगवानको नाम जपि जम्ले हात गरेर त्यहाँका प्रहरी प्रमुख प्रहरी निरीक्षक रविराज थपलिया संग अनुनय विनय गर्दै थिए । उनिद्धारा पिडित झण्डै २ सय जनाले उनलाई घेरा हाली रहेका थिए ।
उनले लडेर भगवानको नाम लिई रहँदा पिडित त्यसमा पनि महिलाहरुले अझै भगवानको नाम लिन्छस् भन्दै उनको मुखमा चप्पल तेर्साई रहेका थिए । प्रहरी निरीक्षक थपलियाले उनलाई ति आक्रोषित पिडितहरुबाट सुरक्षा दिदै दिनै भर संयोजन गरे ।
उनले ढाँट्न नछाडे पछि जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतलाई रिर्पोटिङ्ग गरे पश्चात बस्नेतको निर्देशनमा रेकमबहादुर, उनका मतियार पुर्कोटदहका चिन्ताबहादुर कुँवर र तकमान थापालाई सदरमुकाम तम्घास पठाईयो । त्यस प्रहरी कार्यालयमा २०६९ सालमा ति बृद्धलाई ३ लाख रुपैयाँ दिएको, २०७१ मा ४ लाख र २०७४ मा डेढ लाख दिएको जिकिर गरेका थिए ।
श्रीमान मैले उनलाई रकम दिएको होईन क्षमा पाउ“
आईतबार दिउँसो जिल्ला प्रशासनको सभाहलमा मलागिरीबाट आएका दर्जनौ पिडितहरुले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्ल समक्ष डेलिगेशन कार्यक्रमको आयोजना गरेका थिए । त्यस कार्यक्रममा रेकमबहादुरले दुई हात जोड्दै श्रीमान म सुध्रिने मौका पाउँ, मैले पैसा लगानी लगाई केहि बढि ब्याज लिएको सत्य हो, तर अब देखि मैले यस्तो काम गर्ने छैन भन्दै याचना गरी रहेका थिए ।
पीडित घर्ति तर्फ हात जोड्दै उनले भने हो , मैले ६ हजार तकमान मार्फत बृद्धलाई दिएको हुँ अरु पैसा मैले दिएको छैन त्यो जग्गा मैले पास गराएको हुँ अब गल्ती स्वीकार गर्दै फिर्ता गर्न चाहन्छु ।
प्रमुख जिल्ला अधिकारी पौड्यालले यस्तो जालसाजी पञ्चायतकाल पुर्वका जिम्मेवाल मुखियाहरुले जस्तै गरी रेकमबहादुरले ठगी धन्दा चलाएको स्पष्ट भएको बताए । उनले सोमबार उक्त जग्गा फिर्ता गर्न जिल्ला मालपोतमा पठाउने र अरु पिडितहरुलाई पनि न्याय दिलाउने प्रतिबद्धता जनाए । उनले यस घटना उठान गर्ने सञ्चारकर्मी, सञ्चार माध्यम र संघ संस्थालाई धन्यबाद समेत दिए ।
पीडित सबैले न्याय पाए
प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको घरमा रहेका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा ल्याउने, ति तमसुकहरुको छानविन गरी उनका असामीहरुले लिएको सत्य साँवा कति हो ? बुझेर सरकारी प्रचलित ब्याज दर अनुसारको रकम दिलाई दिने, यस अघि रेकमबहादुरले जो जस संग बढि रकम लिएका छन् त्यो पनि फिर्ता गराई दिने प्रतिबद्धता जनाए । पौड्यालले त्यसो भनि रहँदा रेकमबहादुर फेरी हात जोड्दै भन्दै थिए –‘श्रीमान मलाई सुध्रिने मौका दिनुहोस्, उहाँहरु जति जनाले म संग पैसा लिनु भएको छ, उहाँहरुले पनि छातीमा हात राखेर मेरो साँवा मात्रै दिए पुग्छ नदिए पनि मैले अब देखि माग्ने छैन ।’
प्राय एउटै ब्यक्ति लेखक र साछी
मलायगिरी स्वास्थ्य चौकीका ग्रामिण स्वास्थ्य कार्यकर्ता हरिकृष्ण सेन स्थानिय सरकारी कर्मचारी हुन् । उनले रेकमबहादुरका अधिकांस किर्ते तमसुक लेख्ने र साछी बस्ने गरेको स्पष्ट भएको छ । असामी पिडितहरुले पैसा बुझाउँदा उनले अहिले बुझाउन पर्दैन भन्ने र पछि ल्याप्चे लगाउन लगाई किर्ते तमसुक बनाई घर जग्गा रेकमबहादुरको नाममा गराउन मुख्य सहयोगीको भुमिका खेल्ने गरेको पीडितहरुले बताए ।
रेकमबहादुरका नातेदार रहेका उनलाई पनि छानविनको दायरामा ल्याएर कार्वाही गर्नु पर्ने पिडितहरुको माग छ । त्यस्तै नेपाली कांग्रेस पुर्कोटदहका उप सभापति चिन्तबहादुर कुँवर र अर्का स्थानियवासी तकमान थापा त्यस्ता झुटा तमसुकका साछी बसेर रेकमबहादुरको ठगी धन्दाका साछी बस्ने अर्थात मतियार बन्ने गरेका छन् ।
कुँवरले हात जोड्दै यो पछिल्लो जग्गा पास गराउने घटनाको मात्रै साछी बसेको सफाई दिई रहँदा आक्रामक शैलीमा उठेर उनि तर्फ औला ठड्याए अर्का पिडित मलागिरीका विमल खड्काका भाई बिरेन्द्र खड्काले । उनले भने–‘ मेरो अपाङ्ग दाजु विमल खड्कालाई बैदेशिक रोजगारमा जान बाध्य पार्ने तमसुकको साछी बस्ने उहाँ चिन्ताबहादुर ज्यु नै हुनुहुन्छ त्यसको प्रमाण अदालतबाट ल्याएर पेश गर्न सक्छु ।
चिन्ताबहादुरलाई मैले अभिभावक ठान्थे र रेकमबहादुरले गर्ने गरेको जालसाजी बिरुद्ध म उहाँ संग सहयोग मागी रहँदा पछि अदालतमा आउँदा त त्यो झुटा तमसुकको साछी उहाँ नै भएको देखे पछि म छाँगाबाट खसे जस्तो भएँ, उहाँलाई लाज लाग्दैन पछिल्लो यस काण्डमा मात्रै साछी बसेको हुँ अरुमा छैन भन्न ?’
प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको ठगी उद्योग उनि एक्लैले नभएर ठुलो सञ्जालबाट सम्भव भएको भन्दै सबैलाई तान्ने बचन दिएका छन् । एउटै टोल मलागिरीबाट हिजो १३ जना पिडितहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । उजुरी दिनेहरु आफ्नो परिचय समेत दिन नजान्ने रहेका छन् । उनिहरुको तमसुक ५० हजार दिएको एक बर्ष नपुग्दै दुई तिन लाख भएको देखेर सभाहलमा सबैजना हाँसेका थिए । रेकमबहादुरले ऋणीहरुका नागरिकता र जग्गाका लालपुर्जा समेत आफैले जफत गर्दै आएका छन् ।
ति कागज पत्र पनि फिर्ता गर्न उनि मञ्जुर भएका छन् । सात रोपनी जग्गा मात्रै भएको र कुनै पनि बैंकमा आफ्नो खाता नभएको दावी गर्ने रेकमबहादुरको झण्डै ६ करोड भन्दा बढि ऋण लगानीको श्रोत के हो ? भन्ने सरोकारवालाको प्रश्नमा प्रमुख जिल्ला अधिकारी पौड्यालले भने–‘ स्पष्टै छ नि त्यसको श्रोत हो यहि ठगी धन्दा । ’
सच्चा बिश्वकर्मा पूजा
नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले हामीले सञ्चार माध्यमले गर्ने बिश्वकर्मा पुजा भनेको मलागिरीका ति दलित मजदुरहरुलाई जुन न्याय दिलाईयो त्यही नै सबै भन्दा ठुलो बिश्वकर्मा पुजा भएको प्रतिकृया दिए ।
प्युठानको झिम्रीक गाउँपािलका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराले रेकमबहादुर बिरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको निर्णयको खबर पाउना साथ गुल्मी, प्युठान र अर्घाखाँची सम्मका रेकमबहादुर मार्फतका पिडितहरुले मुक्ति दिवस जस्तै मनाई रहेको बताए ।
छानविन समिति गठन
डेलिगेशनमा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी सहित अधिकांस वडाध्यक्षहरु पनि आएका थिए । रेकमबहादुर कर्तुत काण्ड बिरुद्ध खनिएका उनिहरुले छानविन समितिको माग गरे । सोही अनुरुप प्रमुख जिल्ला अधिकारी पौड्यालले कार्यविधी बनाएर मदाने गाउँपालिकाको न्यायिक समिति अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा छानविन समिति बनेको छ ।
रेकमबहादुरबाट पिडित भएका हाल सम्मका पिडितहरुले सोही समितिमा उजुरी दिनु पर्ने छ । यस अघि ठगिएका र रकम तिरेकाहरुले पनि बढि रकम फिर्ताका लागि उजुरी हाल्न पाउने छन् । त्यस समितिलाई प्रहरीले सहयोग गर्ने जिल्ला प्रहरी प्रमुख दिपककुमार बस्नेतले जानकारी दिए । जग्गा फिर्ता हुँदै गरेका ज्ञानबहादुरका छोरा कृष्णबहादुर घर्तिले भने–‘हाम्रो परिवारको सच्चा भगवान तपाईं संचारकर्मीहरूलाई यो आत्माले जयजयकार गर्दछ ।’