आर्थिक समृद्विका लागि स्वदेशमै उत्पादन: गर्भनर डा. नेपाल
पाल्पा÷नेपाल सरकारका गभर्नर डा. चिरञ्जिवी नेपालले देशलाई आर्थिक समृद्विका रुपमा अगाडि बढाउन स्वदेशमै उत्पादन गर्नु पर्ने बताएका छन् ।
पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन गर्दै गभर्नर डा. नेपालले स्वदेशी माटोमै स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । गभर्नर नेपालले भने ‘हामी पैसा खोज्न विदेश भौतारिएका छौं, व्यापार व्यवसाय गर्न बाहिर गएका छौं तर आफ्नो ठाउँमा गर्न सकिने र संभावनालाई वेवास्ता गरेका छौ जसले गर्दा हामी आर्थिक विकासमा पछि पर्नु परेको छ ।’ अब देशमै केही गर्ने समय आएको छ । अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन तिर लाग्न गभर्नर नेपालले आग्रह गरेका छन् । उनले नेपालमा उत्पादन घटिरहेकाले परनिर्भरता बढ्दै गएको बताए । देशले अहिले २८ अर्बको चामल, ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात गर्ने गरेको गभर्नर नेपालले जानकारी दिए ।
कार्यक्रममा नेपाल बैंङ्कर एशोसियसनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीहरुमा समेत वित्तीय चेतना आवश्यक रहेको बताए । उनले देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । देश विकासका लागि भविष्यका कर्णधारलाई आजैदेखी बैङ्कीङ चेतना दिनु आवश्यक रहेको पौडेलले बताए । नव साक्षर समुदायका लागि वित्तीय चेतना जगाउने उद्देश्यले लेखिएको पैसाको खेती पुस्तक बजारमा आएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्धारा लिखित पुस्तक आईतबार देखी बजारमा आएको हो । फिन्लिट प्रालि मार्फत् बजारमा आएको पुस्तकको मूल्य २ सय ४० रहेको छ । पुस्तकमा पैसा के हो ?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने ? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय समेटिएको छ ।