पितृहरुको उद्दारका लागि भोलिदेखि सोह्र श्राद्ध शुरु हुदै
काठमाडौं – भोलिदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरु हुदैछ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ ।
यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो । यो वर्षको सोह्रश्राद्ध आश्विन ९ गते प्रारम्भ भई आश्विन २३ गते समाप्त हुन्छ ।
देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ ।
त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ ।
ति जुनिहरु मध्ये सवोर्त्कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाईर मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गरिन्छ ।