२० वर्ष पुराना सवारीसाधनमाथिको प्रतिबन्ध उल्ट्याउन मन्त्रिपरिषद्मा प्रस्ताव

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि गुडाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ। सरकारले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन वातावरण प्रदूषण, ट्राफिक जाम तथा दुर्घटना निम्त्याउने दृष्टिले उच्च जोखिममा रहेको ठहर गर्दै साढे दुई वर्षअघि यस्ता गाडी विस्थापन गर्ने नीति अघि सारेको थियो ।

२०७२ चैत १ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो निर्णय उल्ट्याउने तयारी गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा २०७३ फागुन १८ देखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । देशभर भने यो निर्णय गत चैत १ देखि कार्यान्वयनमा ल्याइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यसअघि सरकारले गरेको निर्णय यातायात व्यवसायीको दबाबमा परेर उल्ट्याउन लागेका हुन् ।

‘यातायात व्यवसायीको चौतर्फी दबाबकै कारण मन्त्री महासेठले २० वर्ष पुराना सवारीसाधनमाथिको प्रतिबन्ध हटाउने प्रयास गरिरहेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यातायात व्यवसायीले आर्थिक प्रलोभन देखाएर मन्त्रीलाई आफ्नो पक्षमा ल्याएका हुन् । त्यसैले मन्त्री क्याबिनेट बैठकमा लगेर २० वर्ष पुराना सवारीसाधन फेरि सञ्चालन गर्ने रणनीतिमा अघि बढिरहेको आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।