सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको छ ।
सक्नेले यो पक्षका सोह्रै दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म, यति पनि नसक्नेले पिताको मृत तिथिमा सोह्रश्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
यी तिथिमा कारणबस रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन, यी दिनमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म एक दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरू प्रचलित रहेका छन् ।
सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम मानिएको पनि प्रा डा गौतमले बताए । मङ्गलबार अपराह्न प्रतिपदा तिथिमा श्राद्ध गरिन्छ ।