बगनासकालीका कृषकलाई निशुल्क प्लाष्टिक

पाल्पा / बगनासकाली गाउँपालिकाले व्यवसायिक कृषकहरुलाई प्लाष्टिक सिट वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले २८ जना कृषकलाई शुक्रबार एक कार्यक्रमका बीच प्लाष्टिक सिट वितरण गरिएको कृषि शाखाका संयोजक सन्तोष जिसीले जानकारी दिए । विशेष गरी गाउँपालिका भित्रका महिला, गरीब, असहाय, दलित समुदायका कृषकहरुलाई शतप्रतिशत अनुदानमा प्लाष्टिक वितरण गरिएको संयोजक जिसीले बताए । पोखरी निर्माण गरी पानी संकलनबाट बेमौसममा पनि तरकारी उत्पादन गर्न सहज हुने भएकाले निःशुल्क रुपमा कृषकहरुलाई प्लाष्टिक दिइएको कृषि शाखाले जनाएको छ । वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन श्रेष्ठले कृषकहरुलाई कृषिमा प्रोत्साहन गरी गाउँपालिकालाई कृषि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना अनुरुप प्लाष्टिक वितरण गरिएको बताए । वडा १ का वडा अध्यक्ष सोमबहादुर झेडीले पानी संकलन गरी सिचाई गर्न प्लाष्टिक पोखरीले महत्वपूर्ण सहयोग पुग्ने बताए । एक लाख ६२ हजार लिटर पानी संकलन क्षमता भएको प्लाष्टिक पहिलो चरणमा २८ जना कृषकलाई दिइएको छ । निःशुल्क रुपमा प्लाष्टिक पाएपछि कृषकहरु उत्साहित भएका छन् । उनीहरुले पानी समस्याका कारण बेमौसमी तरकारीहरु उत्पादन गर्न नसकेका बेला प्लाष्टिक पाए पछि भने बेमौसमी तरकारी पनि उत्पादन गर्न सक्ने बताए । हाल सम्म २८ वटा पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा गाउँपालिकाले कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कृषक लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।