मलेसिया जाने नेपाली कामदारले पैसा तिर्नु नपर्ने
काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपालीले पैसा तिर्नु नपर्ने भएको छ । नेपालले ‘शून्य लागत’ मा कामदार पठाउन गरेको प्रस्तावमा मलेसिया सहमत भएको छ । श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच मलेसियामा शुक्रबार बसेको वैठकमा सो सहमति भएको हो ।
औपचारिक श्रम सम्बन्ध स्थापित भएको करिब १७ वर्षपछि नेपाल र मलेसियाका अधिकारीहरुबीच मस्यौदाका बारेमा छलफल भएको हो । यसअघि तीनपटक आदानप्रदान भइसकेको प्रस्तावित मस्यौदामाथि शुक्रबार सात÷आठ घण्टाको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो ।
अब चाँडै श्रम सम्झौतामा हस्ताक्षर हुने छलफलमा सहभागी नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताएका छन् । नेपालले सम्झौताका लागि यसअघि नै मलेसियालाई निमन्त्रणा गरिसकेकाले दुई देशका मन्त्रिस्तरीय उच्च अधिकारीहरुबीच काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।
राजदूत खरेलका अनुसार मलेसियामा नेपाली कामदारमाथि थोपरिएको आर्थिक भार हट्ने छ भने हवाईटिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षण लगायतका खर्च पनि मलेसियाली रोजगारदाताले नै व्यहोर्ने मस्यौदामा उल्लेख छ ।
त्यस्तै मस्यौदामा कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्य, लगायतका विषय समावेश गरिएका छन् । तर २४ सै घण्टा बिमाको व्यवस्था गर्ने विषय भने मस्यौदामा समावेश हुन नसकेको खरेलले बताएका छन् । मलेसियामा अन्य मुलुकका कामदारहरु पनि रहेको र त्यहाँको सरकारले कामदारको बिमासम्बन्धी नीतिमा परिमार्जन गर्ने क्रममा रहेकाले त्यो विषय अहिलेलाई समावेश गर्न नसकिएको खरेलले बताएका छन् ।
मस्यौदा छलफलमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी एसिया महाशाखाका प्रमुख तापस अधिकारी, कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमार राज खरेल, द्वितीय सचिवहरु विनोद मुखिया, महेश्वरमणि त्रिपाठी र श्रम सहचारी सानुमाया रम्तेलसहितका प्रतिनिधि सहभागी थिए ।