काँग्रेसले उठायो सुझावको डोको, कहिले खुल्ला पोको ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँंग्रेसले यतिखेर पार्टीको संशोधित विधानको मस्यौदामा सुझाव संकलन गरेको छ । कांग्रेसले संशोधित विधान मस्यौदालाई बलियो बनाउन सातै प्रदेशमा सुझाव लिएको हो ।
विधान मस्यौदा संशोधन समितिले तयार पारेको पार्टीको संघीय विधानको मस्यौदाबारे सुझाव लिन शनिबारसम्मको समय निर्धारण गरेको थियो । निर्धारित समय शनिबारदेखि सकिएको छ तर केही ठाउँमा भने अझै सुझाव संकलन भइरहेको छ ।
सुझाव संकलन अभियानमा प्रतिनिधिहरुले पार्टीको स्थानीय संरचनालाई बलियो बनाउन सुझाव दिएका छन् । विधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका क्रममा बोल्ने प्रतिनिधिहरुले पार्टी संरचनामा प्रदेशलाई भन्दा स्थानीय तह बलियो बनाउन सुझाव दिएका हुन् ।
मुलुक संघीय संरचनामा गएपनि पार्टीमा भने स्थानीय संरचनालाई बलियो बनाउने गरी प्रस्ताव आउन नसकेको उनीहरुको गुनासो छ । पार्टीको विधान मस्यौदामा केन्द्रीय समितिको सरचना, निर्वाचन विधि भन्दा पनि स्थानीय संरचनालाई कसरी बलियो बनाउने भन्ने ढंगले प्रावधान समेटिनुपर्ने आवाज आएको केन्द्रीय सदस्य एवम् विधान मस्यौदा समितिका सदस्य मीन विश्वकर्माले बताए ।
विधानको मस्यौदामा पार्टी सभापतिसहित अन्य सबै पदाधिकारी निर्वाचन गर्ने वा सभापतिको मात्रै निर्वाचन गरेर अन्य पदाधिकारी मनोनयन गर्ने भन्ने मुख्य विषयमा संस्थापन र संस्थापन इतर पक्षवीच मतान्तर छ । छलफलमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, राष्ट्रिय, प्रतिनिधि तथा प्रदेशसभा सांसदलाई बोलाइएको छ । विधानको प्रारम्भिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ । संकलन अभियानमा खटेकाहरु डोको भरिको सुझाव लिएर फर्केका छन् । पार्टीले संशोधित विधान बारे स्थानीय नेता तथा कार्यकताबाट सुझाव त लिइयो तर त्यो पोको कहिले खोल्ने हो ? ठेगान छैन । साथै यसरी आएको सुझाव कार्यान्वयन हुने वा नहुने ? भन्ने पनि अन्यौल छ ।