सुन काण्डः एसएसपी दिवेश र एसपी विकासको निलम्बन फुकुवा

काठमाडौं- ३८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ।

निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही गृह सचिव प्रेमकुमार राईले मंगलबार फुकुवा गरेका हुन्।

फुकुवासँगै उनीहरूलार्इ काममा फर्किने बाटो खुलेको छ।यस्तै डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया भइरहेको हो।

निलम्बन फुकुवा सम्बन्धि पत्र केही दिन अघि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको थियो।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीले कानूनमा रहेको व्यवस्था अनुसार गृहबाट निर्णय भएको बताए। उनले अदालतले छाडेको आदेशका आधारमा निलम्बन फुकुवा हुने बताए।

तीनैजना प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो। यी तीनको हकमा उच्च अदालत बिराटनगरले विभिन्न मितिमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

फौजदारी अभियोगमा प्रतिवादी रहेका तीनैजनालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो। प्रहरी नियमावली अनुसार निलम्बन गर्नेले नै फुकुवा गर्ने नियम भएकाले तीनैजनाको निर्णयाधिकार गृहलाई हुन्छ।

प्रहरी नियमावलीको २०७१ को नियम ११५ को उपनियम ८ मा अनुसार निलम्बन फुकुवा गरिएको स्रोतले जनाएको छ।