नेकपा सचिवालयको बैठक बस्दै
काठमाडौं- पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि जनाएपछि नेकपा सचिवालय बैठक आइतबार बस्दै छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन्।
अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू विदेशमा रहेका बेला सरकार र पार्टी नेतृत्वप्रति नेता नेपालले असन्तुष्टि जनाएको भन्दै चित्त दुःखाएको स्रोतले बतायो। ‘माधव नेपाललाई सम्झाउँदै गर्नुहोला, सचिवालय बैठक बसौं’, ओलीले दाहाललाई भनेका थिए। स्रोतका अनुसार दाहालले तल्लो तहसम्म एकताको काम नहुँदा तथा सरकारको कार्यशैलीले आम कार्यकर्ता र जनतामा निरासा उत्पन्न भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।
अध्यक्षद्वय ओली र दाहाल विदेशमा रहेका बेला वरिष्ठ नेता माधव नेपालले स्थायी समितिका सदस्यहरूको भेला गरेर प्रदेशका पदाधिकारी चयनको निर्णयप्रति लिखित रूपमै असहमति जनाएका थिए। १२ दिने राष्ट्रसंघको सम्मेलनबाट अध्यक्ष ओली बिहीबार स्वदेश फर्केका हुन् भने अर्का अध्यक्ष दाहाल पनि पत्नी सीताको उपचार गरी बुधबार मात्र स्वदेश फर्केका हुन्। अध्यक्ष दाहालले पनि सिंगापुर जानुअघि आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा सरकारले सोचेअनुरूप काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए।