सेनापतिले थाले सेनामा सुधार
काठमाडौं । भदौ २४ गतेदेखि नेपाली सेनाको पूर्ण जिम्मेवारी सम्हालेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र थप सुधार सुरु गरेका छन् । आर्मी अफिसर्स क्लवलाई भाडामा लगाउने कार्य बन्द गर्नेदेखि शान्ति मिसनमा सैनिक अधिकारी पठाउने मापदण्ड समेत परिवर्तन गरेका छन् ।
पहिलो पटक शान्ति सेनामा जान कम्तिमा ११ वर्ष सेवा गरेको र दोस्रो पटक जान २० वर्ष सेवा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ भने प्राविधिक र निश्चित क्षमता भएकालाई मात्र तेस्रो पटक अवसर दिइने भएको छ ।
शान्ति मिसनमा पठाउन जर्नेलले प्रत्येक वर्ष निश्चित कोटा पाउँदै आएका थिए भने हवल्दार र त्यसभन्दा तल्लो तहका सैनिकलाई उनीहरुले कोटामा पठाउने गरेका थिए । यस्तै केही पहुँचवाला जर्नेलले हवल्दार भन्दा माथिका सैनिकलाई पनि अवसर दिने गरेका थिए । तर अब जर्नेलको कोटा कटौती भएको छ भने दलका नेता, मन्त्रीको सिफारिसलगायत राजनीतिक भनसुन समेत काम नलाग्ने भएको छ ।
सेनाको व्यवसायिक छविमा आँच आएको भन्दै प्रधानसेनापतिले त्यस्तो प्रावधान अन्त्य गर्ने निर्णय लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यस्तै प्राविधिक जनशक्तिका लागि पनि छुट्टै मापदण्ड बनाइएको छ भने सामान्यतया कडा प्रतिस्पर्धाका आधारमा शान्ति मिसनमा पठाउने व्यवस्था गरिएको बताइएको छ । यसले शान्ति सेनामा जान योग्य सैनिकले मात्र त्यस्तो अवसर पाउने भएका छन् ।