कांग्रेसभित्रको गुटबन्दी झन् बढ्दै

नेविसंघको निहुँ, विवादको विऊ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको वैठक भोलि बस्ने भएको छ । केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरुलाई वैठकमा अनिवार्य उपस्थित हुन सूचित गरिएको बताइएको छ । बिहीबार बस्ने भनिएको वैठक सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अनुशासन समिति र कार्यसम्पादन समितिलगायतका विषयमा देखिएको मतभिन्नता, नेविसंघको विधान, नेताहरुबीच रहेको मनोमालिन्य जस्ता विषय टुंगो नलागेका कारण सोमबार दिउँसो १ बजे वैठक बस्ने गरी स्थगित गरिएको बताइएको थियो ।
नेपाली कांग्रेसले तीन तहको चुनावमा वामगठवन्धनको तुलनामा थोरै मत ल्याएपनि सत्तारुढ दलसँग धेरै ठूलो मतान्तर देखिदैन । तर पछिल्लो अवस्थामा पार्टीको संगठन कमजोर भएपछि नेता, कार्यकर्ता शिथिल भइरहेको देखिन्छ । यस्तो अवस्थामा पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेको छ । सोही अनुसार विधान मस्यौदालाई अन्तिम रुप दिइने प्रयास भइरहेको बताइएको छ ।
असोज ८ देखि १३ गतेसम्म विभिन्न प्रदेशमा सुझाव संकलन गरेर पार्टीले आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्ने राय सल्लाह लिएको छ भने भोलिको बैठकमा एकीकृत विधानलाई अन्तिम रुप दिने विषयमा छलफल हुने बताइएको छ ।
पार्टी भित्र बढेको गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको भन्दै नेतादेखि कार्यकर्ताको गुनासो छ । प्रमुख नेताहरु पनि गुटबन्दी अन्त्य गर्नुपर्ने बताउँछन् । तर आफै गुटको भेला गरिरहेका छन् । पार्टीको १४ औं महाधिवेशनलाई केन्द्रित गरेर प्रमुख नेताहरुले छुट्टाछुट्टैै समूह बनाउने अभियान नै थालेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल गुटको भेला हालै बसेको थियो । केही दिनअघि वालाजुस्थित एक सहकारीमा बसेको भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नविन्द्रराज जोशी, प्रदिप पौडेललगायतका नेताको उपस्थिति थियो । सो भेलाले देउवाविरुद्ध मोर्चाबन्दी शुरु गरेको संकेत दिएको छ ।
देउवाका विरुद्ध आउँदो महाधिवेशनमा रामचन्द्र पौडेल सभापति बन्न इच्छुक देखिएका छन् भने शशांक कोइराला, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंहले समेत सभापति पदका लागि उम्मेदवार बन्ने संकेत गरेका छन् । उता देउवाले आफू नथाकेको सन्देश यसअघि नै दिइसकेका छन् ।
उता कृष्ण सिटौला सुजाता कोइरालाको स्वास्थ्य स्थिति बुझ्न भन्दै उनकै निवासमा पुगेका थिए । त्यसलाई कोइराला र सिटौलाको गठवन्धन हुन सक्ने संकेतका रुपमा लिन थालिएको छ । दुई नेताको सो भेटका अवसरमा झन्डै डेढ घण्टा राजनीतिक छलफल भएको बताइएको छ भने पार्टी कमजोर हुँदै गएकोमा दुवै नेताले चिन्ता व्यक्त गरेको नेता रोमी गौचनले बताएका छन् ।
वाह्रौ महाधिवेशनसम्म तत्कालीन संस्थापनपक्षको निकट मानिएका सिटौला १३ औं महाधिवेशनमा आफै सभापतिको उम्मेदवार भएका थिए भने अन्त्यमा देउवालाई समर्थन गरेर विजय गराएका थिए । त्यसपछि रामचन्द्र पौडेलसँग समेत सिटौलाले सहकार्य गरेका थिए ।
अर्जुननरसिंह केसीको पहलमा हालै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र रामशरण महत सहितको छलफल चलेको बताइएको छ । सुजाताको स्वास्थ्य स्थिति बुझ्ने वहानामा त्यहाँ लामो राजनीतिक छलफल समेत भएको हुँदा देउवा पक्ष सो वैठकलाई लिएर निकै सशंकित देखिएको छ ।
नेविसंघको निहुँ, विवादको विऊ
नेविसंघको अधिवेशनको विषयमा पार्टीको गुटबन्दी र नेताहरुको महत्वकांक्षा झन् छताछुल्ल हुँदै गएको छ । कात्तिक १६ देखि १८ गतेसम्म हुने नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको तयारी गर्ने विषयमा पार्टीका शीर्ष नेताहरुबीचमै मतभिन्नता बढेको छ । तत्कालीन लोकतान्त्रिक फोरमका विद्यार्थी संगठनका अध्यक्ष कपिलेश्वर यादवलाई नेविसंघको महामन्त्री बनाउनुपर्छ भन्दै विजयकुमार गच्छदारले प्रस्ताव गरेपछि देउवा पक्षले आपत्ति जनाएको छ ।
भ्रातृ संगठनदेखि लिएर केन्द्रमा समेत गुटबन्दी भएका बेला विद्यार्थी राजनीतिलाई लिएर पनि नेताहरु विभाजित भएका छन् । नेविसंघ महाधिवेशन निर्देशन समितिका संयोजक प्रकाशशरण महतले गत सोमबार र मंगलबार बोलाएको वैठक रामचन्द्र पौडेलले बहिस्कार गरेका थिए भने नविन्द्रराज जोशी र गगन थापाले समेत सहजीकरण समितिको वैठक बहिस्कार गरेको बताइएको छ ।
नेविसंघको विवादलाई लिएर भदौ २८ गते बोलाइएको केन्द्रीय कार्यसमितिको वैठक बस्दै नबसी स्थगित भएको थियो भने विद्यार्थी संगठनमा आफ्नो बलियो प्रभाव भयो भने भोलि पार्टीको बलियो नेता हुन सकिन्छ भन्ने मान्यताका कारण पनि धेरै नेताहरुले नेविसंघलाई उपयोग गर्दै आएका छन् ।
नेविसंघका वर्तमान अध्यक्ष नैनसिंह महर देउवा निकट हुन् । महाधिवेशनलाई लिएर विवाद भइरहेका बेला उनी विदेश भ्रमणमा निस्किएका छन् । नेविसंघको राजनीति गरेर प्रधानमन्त्री समेत भएका शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मात्रै सो संघमा ल्याउन खोजेका कारण पौडेललगायतका विभिन्न गुटहरु देउवासँग रुष्ट हुँदा त्यसको प्रभाव पार्टीमै परेको एक नेताले बताएका छन् ।