‘आत्मनिर्भर बनाउन सहकारी महत्वपूर्ण’
पाल्पा÷ तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छरिएर रहेको सानो पूजीलाई एकत्रित गरी, उद्योग तथा व्यापार, व्यवसायमा लगानी गरी व्यक्तिहरुको आयआर्जन तथा आत्मनिर्भर बनाउन सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख शाहीले बताए ।
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेनको १८ औ साधारणसभालाई सम्बोधन गर्दै प्रमुख शाहीले यस्तो बताएका हुन् । उनले तानसेनको विकास, रोजगारी तथा व्यापार व्यवसायमा श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । नगर प्रमुख शाहीले नगरभित्रका सहकारी संस्थाहरु माथि उठाउन, व्यवस्थित मर्यादित रुपमा सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले देशको अर्थतन्त्रमा सहकारीहरुको ठूलो भूमिका रहेको बताए । पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा सहकारीहरुको लामो ईतिहास रहेकाले देशमै चर्चा हुने गरी नेटवर्क बनाएर काम गर्न सुझाव दिए ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी रायमाझीले जिल्लाका सहकारीहरुको बचतमा दिने व्याज र ऋणमा लिने व्याज दर एउटै बनाउनु पर्नेमा जोड दिए । रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदिश भट्टराईले संस्थापक सदस्य र साधारण शेयर सदस्यको अधिकार एउटै भएकाले सोही किसिमको अभ्यासमा सबै सहकारीले भूमिका खेल्नु पर्ने बताए । कार्यक्रममा आनन्द बचतका अध्यक्ष सर्जुलाल बज्राचार्य, सल्लाहकार बुद्धिप्रसाद शर्मा लगायतले श्रीनगर बहुउद्देश्यीय सहकारीले खेलेको भूमिकाको चर्चा गरे । कार्यक्रममा संस्थाका सचिव भरत शर्माले बार्षिक प्रतिवेदन पेश गर्दै सस्थाको कारोवार आगामी बर्ष भित्रै आफ्नै भवनबाट गर्ने अभियानका साथ काम भईरहेको बताए । उनले भने सहकारीले गत बर्ष १० करोडको कारोवार गरेकोमा आगामी बर्ष १२ करोड सम्म पु¥याउने लक्ष्य रहेको बताए । संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले आर्थिक प्रतिवेदन पेश गर्दै बर्षभरी भएको आम्दानी र खर्चको जानकारी गराएका थिए । संस्थाले सहकारीमा आवद्ध सबै शेयर सदस्यहरुको बीमा गर्ने योजना ल्याएको छ । सभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋणकर्ता र वालबवचतकर्ता, जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।