उपसचिवले गरे करिब ४ करोड भ्रष्टाचार
काठमाडौं- शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले करिब ४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको रहस्य खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निमार्ण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुःख दिई करिब ४ करोड रुपैयाँभन्दा बढी घुस लिएको र आफन्त एवं साथीको बैंक खातामा जम्मा पारेको रहस्य खुलेको हो ।
पदमा बहाल रहदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा छानविन गर्दा उनले आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको हो ।
निजको परिवारका सदस्यको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैङ्क मौज्दात, लगायतका शीर्षकमा समेत गरी ३ करोड ९३ लाख ७४ हजार ९२८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।
उपसचिव ठाुकरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि नभएको, घुस वापत लिएको रकम श्रीमती अनिता ठाकुरको नाममा राखेको, अन्य व्यक्तिहरु सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाको नाममा खातामा लुकाइराखेको पाइएको हो ।
यस्तै आयोगले गत साउन १२ गते कार्यकक्षबाट १२ लाख ५० हजार ५०० समेत बरामद गरेको थियो ।