सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला

भक्तपुर-नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ-गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताउनुभएको छ ।

मन्त्री विश्वकर्माले भन्नुभयो” देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।”

सरकारले समृद्ध नेपाल र सुखी नेपाली अभियान शुरु गरेको बताउँदै उहाँले खेलको विकासले मात्र त्यो सम्भव भएकाले सरकारले खेलकूदका लागि चाहिने आवश्यक वातावरण बनाउनेछ भन्नुभयो । सरकारले खेलाडीको स्वास्थ्य एवं जीवनबीमा गर्ने प्रबन्ध सरकारले गरिसकेको मन्त्री विश्वकर्माको भनाइ थियो । खेलकूदमा लागेर अब खेलाडिले  पछुताउनुपर्ने दिन गएको बताउनुभयो ।

भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उहाँले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताउनुभयो ।मन्त्री विश्वकर्माले भन्नुभयो, वर्तमान सरकारले स्वर्णविजेता खेलाडीलाई मासिक रु पाँच हजार र नेपालको ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजारका दरले जीवनभर सम्मान भत्ता उपलब्ध गराएर वितरण गर्न थालिसकेको छ ।

नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले खेलकूदको विकासले नै देशको विकास हुन्छ भन्दै खेलकूद र खेलाडीको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष श्यामसुन्दर बस्नेत, महासङ्घ भक्तपुरका उपाध्यक्ष कविराम थापा, निकोसेरा डोजाङका अध्यक्ष महेश प्रजापतिलगायतले जिल्लामा खेलकूदमा युवा र बालबालिकाको आकर्षण बढेको बताउनुभयो ।