दुर्गा भवानीले सदवुद्धि दिउन्
असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनामा हजारौं वर्षअघिदेखि नेपाल तथा विदेशमा बसेका करोडौं नेपालीले विजया दशमी पर्व बडादशैंका रुपमा मनाउँदै आएका छन् । द्रोहको भाव समाप्त होस्, रिसराग हटोस्, मेलमिलाप बढोस् र आफन्तजनमा एकताको भावना आओस् भन्ने अभिप्रायले आफूभन्दा ठूलासँग आशिर्वाद लिएर दशैं मनाउने चलन छ । यो विशिष्ट संस्कृति नेपालको आफ्नै मौलिक परम्परा तथा संस्कृतिमा आधारित छ ।
कतिपयले नेपालका केही जातिले मात्र दशैं मान्नुपर्ने र अरुका लागि त्यसको महत्व नभएको कुतर्क गर्ने गरेका छन् । तर पूर्वका राई लिम्वूदेखि लिएर तामाङ, नेवार, गुरुङ, थारुलगायत तराई, पहाड र हिमाल सबैतिर महोत्सवका रुपमा दशैं मनाउने गरिन्छ । त्यसैले यसलाई नेपालको राष्ट्रिय चाड भनिएको हो ।
नेपालको क्षेत्रफल मात्र होइन, आसाम, बर्मा, मलेसिया, भूटान, भारत र समुन्द्रपारका देशमा बस्ने नेपालीहरुले समेत दशैंलाई विशेष उत्साहका साथ मनाउने गरेका छन् । नेपालीको भावना र हृदयसँग जोडिएको हुँदा यसको छुट्टै महत्व छ । कैयन् वर्षअघिदेखि भेट नभएका आफन्तजनलाई यही पर्वले भेट गराउँछ भने पुराना वैमनस्य र भेदभाव बिर्साएर एकताको भावना सञ्चार गराउने पर्व पनि यही हो ।
हजारौैं वर्ष पुरानो सनातन धर्मले भगवान रामलाई विष्णुको अवतारका रुपमा सम्मान गरेको छ । राम वनवास गएका बेला सीताको हरण गर्ने रावणको बध गरेर विजय उत्सव मनाएको सम्झनामा दशैंका दिन रातो टीका लगाएर उत्सब मनाउने चलन शुरु भएको कतिपय संस्कृतिविद्हरुले उल्लेख गरेका छन् । पौराणिक कालदेखि दशैंलाई राष्ट्रिय उत्सवका रुपमा मान्दै आएका नेपाली जनताले अहिले पनि उत्तिकै उत्साहका साथ यो पर्व मनाउने गरेका छन् ।
युग वदलिएपनि धार्मिक र साँस्कृतिक मूल्यमान्यताहरु बदलिदैनन् । बरु यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई बलियो बनाउन मद्दत पुर्याएको देखिन्छ । तसर्थ बडादशैंलाई हामीले नेपाली–नेपालीबीचमा सद्भावना बढाउने उत्सवका रुपमा मान्दै आएका छौं । नेपाल र नेपालीको समृद्धि, सुख र खुशी नै हामी सबैको चासोको विषय हो । तसर्थ विजया दशमीले नेपाली जनतामा आपसी सद्भाव बढाओस् र राजनीतिक दल एवं राज्यका सम्पूर्ण संयन्त्र सकारात्मक भएर राष्ट्र निर्माणको महायज्ञमा समर्पित रहन दुर्गा भवानीले सबैलाई सद्वुद्धि दिउन् भन्ने हाम्रो शुभकामना छ ।
अन्त्यमा, विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण आदरणीय पाठकवर्ग, विज्ञापनदाता, हितैषी, सहयोगी, शुभेच्छुक र सम्पूर्ण सञ्चारकर्मीहरुमा सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना अर्पण गर्दछौं ।