अर्थशास्त्री अब्देल खालेक गिरफ्तार

कायरो- इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।

फारुकले गत साता आफ्नो पुस्तक”के इजिप्ट साँच्चिकै गरिब मुलुक हो?”का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताए ।

फारुकलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताए।

फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले बताए ।
प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ ।

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् ।

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतङ्कवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् ।