ठाकुर र महतोको टक्कर, राजपालाई ठक्कर
काठमाडौं, असार १० ÷राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा पछिल्लोसमय अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोबीच टक्कर पर्न थालेको छ । स्रोतका अनुसार संयोजक ठाकुरले अझै केही वर्ष नेतृत्वमा रहने चाहना राखेका छन् । तर अध्यक्ष मण्डलका सदस्य महतोले भने पुर्वनिर्धारित शर्त अनुसार नेतृत्व अब आफूले पाउनुपर्ने दाबी गर्न थालेका छन् ।
विभिन्न समूहमा छरिएका मधेसवादी दलहरुले राजनीतिमा भूमिका कमजोर बन्दै गएपछि त्यसलाई बलियो पार्न गतवर्ष आपसमा मिलेर राजपा बनाएका हुन् । राजपा बनाउँदा विभिन्न पार्टीका अध्यक्षहरुलाई समेटेर अध्यक्ष मण्डल बनाइएको थियो । त्यसमा राजनीतिक मर्यादाको हिसाबले ठाकुरलाई संयोजक बनाइएको थियो दोस्रो स्थानमा रहने गरी महतो अध्यक्ष मण्डलको सदस्य बनेका थिए । अन्य नेताहरुलाई पनि त्यस अनुसार राखिएको थियो । पार्टीहरू एकीकरण गर्दा अध्यक्ष मण्डलको संयोजक ६ महिनामा फेर्ने भन्ने थियो र पार्टी महाधिवेशन एक वर्षभित्र गर्ने प्रस्ताव गरिएको थियो ।
राजपा गठन भएको एक वर्ष नाघिसकेको छ तर अहिलेसम्म न अध्यक्ष मण्डलको संयोजक फेरिएको छ, नत महाधिवेशन नै हुन सकेको छ । निर्वाचन आयोगले राजपालाई असार मसान्तभित्र महाधिवेशन गर्न सचेत गराएको थियो तर राजपाले आयोगलाई चुनौति दिँदै महाधिवेशन एक वर्षपछि अर्थात् २०७६ बैशाख ७ र ८ गते गर्ने निर्णय गरेको छ । राजपाले पार्टी विधान नै संशोधन गरेर महाधिवेशन सारेको हो । नेतृत्वको हानथापले असारमा महाधिवेशन हुन नसक्ने स्थिति आएपछि विधान नै संशोधन गरेको हो ।
संयोजक नफेरिनु र महाधिवेशन समेत हुन नसकेपछि नेता महतोले नेतृत्वको लागि पार्टीभित्र रडाको मच्चएको स्रोत बताउँछ । त्यस्तै राजपाले ओली सरकार गठनमा संघीय समाजवादी फोरमसँगै समर्थन जनाएको थियो । समर्थन जनाएकै कारण फोरम सरकारमा सहभागी भइसकेको छ । तर राजपा अहिलेसम्म सरकारमा सहभागी हुन सकेको छैन । त्यस कारण राजपा अहिले न सत्ता पक्ष बनेको छ न त प्रतिपक्ष ।
स्रोतका अनुसार राजपा सरकारमा सहभागी हुने बिषयमा शिर्ष र युवा नेताबीच पनि मतभेद रहेको बताइन्छ । अहिलकै अवस्थामा राजपा सरकारमा गए पार्टीबाट संयोजक ठाकुरले नेतृत्व गर्ने छन् । तर महतोले भने नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी गर्दै आएका छन् । त्यही कारण राजपाको सत्तायात्रा अल्मल भएको छ । दोस्रो तहका नेताहरु भने नेतृत्व युवा पुस्तामा आउनु पर्ने पक्षमा रहेको स्रोत बताउँछ । यस हिसाबले राजपामा ठाकुर र महतो टक्करले पार्टीलाई नै ठक्कर परेको देखिन्छ ।