चीनको लुसान र तानसेन नगरबीच मित्रवत् सम्बन्ध
रामचन्द्र रायमाझी
पाल्पा, असार १० । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको लुसान नगर र तानसेन नगरपालिका बिच सौहार्दपूर्ण सम्बन्ध कायम भएको बताइएको छ । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका कार्यकारी मेयर ची लुन पीन र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीद्वारा विहिबार नगरबीच सौहार्दपूर्ण सम्बन्ध कायम भएको विज्ञप्ति जारी गरिएको हो ।
असार ६ र ७ गते लुसान नगरबाट कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा काठमाडौं, लुम्बिनी हुँदै तानसेन आएको चिनिया टोलीको सम्मानमा तानसेनमा आयोजित स्वागत कार्यक्रममा दुबै नगरका मेयरले अन्तरसम्बन्धबारे आआफ्ना धारणा राखेका थिए । लुसान नगरका पाहुनाहरुलाई सम्मान गर्दै तानसेन नगरका प्रमुख शाहीले छिमेकी देशहरुसँगको तटस्थ सम्बन्धलाई नेपालले सधंै सम्मान गरेको बताए ।
प्रमुख शाहीले नेपालको विकासका लागि विगतदेखि चीन सरकार र चिनिया नागरिकको महत्वपूर्ण भूमिका रहेको स्मरण गराए । नगरबासीले विकास, निर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि लुसान नगर र तानसेनबीच सहकार्य चाहेको भन्दै प्रमुख शाहीले सम्बन्ध सुदृढ बनाउँदै लैजानेमा जोड दिए ।
जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीनले तानसेन नगरपालिकाको मैत्रीपूर्ण भ्रमण उपलव्धिमूलक भएको बताएका छन् । दुई देश विचको सम्बन्धलाई सुमधुर बनाउन लुसान नगर पनि तयार रहेको लुन पीनले बताए । ची लुन पीन र तानसेन नगर प्रमुख अशोककुमार शाहीबीच दुवै नगरको हितका विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
सहमतिमा परम्परागत रुपमा नेपाल चीनबीच सरकार र जनस्तरमा कायम दौत्य सम्वन्धलाई सम्मान गर्दै तानसेन र लुसान नगरबीच विकास निर्माणका सकारात्मक अनुभव आदान प्रदानका लागि सहकार्य र सहयोग गर्ने, दुवै नगरको पर्यटकीय विकासका लागि बुद्ध सर्किट, शिल्करोड, बुद्धदर्शन लगायतका अवधारणालाई आत्मसात गर्दै समन्वय, सहकार्य र सहयोग जनस्तरबाटै कायम गरिने, तानसेन नगरपालिका र चीनको लुसान नगरबीच सहयोग र सहकार्य सौहार्दपूर्ण सम्वन्ध तत्काल कायम हुने बताइएको छ ।