अवैध घरेलु मदिरा बरामत
गुल्मी-प्रहरी चौकी चारपालाले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा प्रहरीले गुल्मी दरबार गाउँपालिका वडा नं.३ गौडाकोटका विभिन्न पसलबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्ट समेत गरेको हो ।
आईतबार मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ५० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले गौडाकोट बजार आसपासमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको चारपाला प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक विष्णु खनालले बताए ।
चाड पर्वको समयमा होहल्ला हुने,जुवा तास खेल्ने,झगडा गर्ने जस्ता क्रियाकलाप हुने भएकोले अनुगमन गर्दै हिडेको प्रहरी चौकी प्रमुख खनालले बताए।
गुल्मी दरबार गाउँपालिका वडा नं ३, कार्यालयबाट विहान ६ बजे देखि साँझ ६ बजे सम्म मदिरा बेच्न नपाउने निर्याण गरिएको वडा अध्यक्ष क्या.बल बहादुर थापाले बताउनुभयो । अनुगमनको क्रममा अटेर गरि अवैध घरेलु मदिरा बेच्न राख्नेहरुलाई कारबाही गर्ने थापाको भनाई छ ।
मदिराका कारण झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढ्ने भएकाले प्रहरी चौकी चारपालाले गुल्मी दरबार गाउँपालिकाका,रेसुङ्ग नगरपालिकाका वडाहरुमा पनि अनुगमन गर्ने प्रहरी चौकी प्रमुख खनालले बताए ।