नेकपाभित्र गुटमै अल्झिए नेता, बल्झियो एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तल्ला कमिटी एकीकरणमा झेला हुँदै गएको छ । नेतृत्वको आकाँक्षी बढी र सिट सीमित हुँदा शीर्ष नेताहरुलाई प्रदेश तथा जिल्ला कमिटी गठन र जनवर्गीय संगठन एकीकरण टुंग्याउन मुश्किल भएको हो ।
एमाले र माओवादी केन्द्रको एकता घोषणा गर्दा तल्ला कमिटी र वर्गीय संगठनको एकीकरण ३ महिनाभित्रै टुंग्याउने भनिएको थियो । दुई पार्टीबीच जेठ ३ मा एकता घोषणा गरिएको थियो । त्यस हिसाबले तल्ला कमिटीको एकता साउनभित्रै छिनोफानो गर्नुपर्ने थियो । तर अहिले एकता घोषणा भएको ५ महिना बित्दा पनि प्रदेश तथा जिल्ला कमिटी गठन र वर्गीय संगठन एकीकरण हुन सकिरहेको छैन ।
पार्टीभित्रको विभिन्न पक्षबीच भागबण्डा नमिल्दा एकीकरणमा ढिलाई भएको हो । र्शीर्ष नेताहरु आ आफ्नै गुटमा अल्झिँदा एकीकरण बल्झिएको हो । एकीकरणको छिनोफानो गर्नका लागि तय गरिएको पटक पटकको सचिवालय बैठक भागबण्डा नमिलेकै कारण निष्कर्षविहीन हुने गरेको छ ।
प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको थियो । बाँकी सदस्य त्यही नेतृत्वले टुंग्याउने भनिएको थियो तर त्यसप्रति पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमै असहमति पेश गरेपछि त्यो पनि अन्यौलमा परेको छ ।
नेतृत्व छनौटको झमेला झन् बल्झिँदै गएपछि सचिवालयले प्रदेश कमिटी पूर्ण गर्ने जिम्मा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई दिएको छ ।
सचिवालयको बिहिबारको बैठकमा महासचिव पौडेलले सम्भावित प्रदेश सदस्यहरुको नामावली पेश गरेका थिए । नेता पौडेलले नेतृत्व छनौटका लागि गठित विभिन्न कार्य दलले गरेको सिफारिसका आधारमा सदस्यको सूचि पेश गरेका हुन् । सात वटै प्रदेशमा गठित कार्यदलले प्रदेश तथा जिल्ला नेतृत्वका लागि महासचिव समक्ष धेरै जनाको नामसहितको सूचि पेश गरेको छ । नेतृत्वका लागि नामको चाङ नै आएपछि शीर्ष नेताहरुलाई प्रदेश तथा जिल्ला कमिटी टुंग्याउन मुश्किल परिरहेको छ ।
केन्द्रीय सचिवालयले प्रदेश तथा जिल्ला नेतृत्व एकसरो तय गर्ने जिम्मा महासचिव पौडेललाई दिएको थियो । महासचिव पौडेलले दशैंमा केही दिन पोखराको एकान्त ठाउँमा बसेर विभिन्न प्रदेश तथा जिल्लाबाट आएका सिफारिसको आधारमा प्रदेश सदस्यको कार्य सूचि बनाएको स्रोतले जनाएको छ ।
महासचिव पौडेलले त्यसरी तय गरेको सदस्यको सूचि सचिवालय बैठकमा पेश गरेका हुन् । तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका केही नेताले महासचिव पौडेलले पेश गरेको सूचिमा‘सबै पक्ष नसमेटिएको’ भन्दै त्यसमा हेरफेर हुनुपर्ने धारणा राखेपछि नेकपाले बिहिबार पनि प्रदेश नेतृत्व टुंग्याउन सकेन । त्यसपछि प्रदेश सदस्य मिलाउने जिम्मा महासचिव पौडेलसँगै गृहमन्त्री बादललाई पनि दिइएको हो । महासचिव पौडेल र गृहमन्त्री थापाले केहीदिनमा हेरफेरसहित अर्को सूचि तय गर्ने छन् । स्रोतका अनुसार अब बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ । तर सचिवालय बैठक कहिले बस्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।
प्रदेश तथा जिल्ला नेतृत्व छिनोफानो गर्न नेकपाले कात्तिक १२ र १३ गते स्थायी कमिटी बैठक बोलाएको छ । तर त्यस अगाडि फेरि सचिवालय बैठक बस्नु पर्ने भएकाले स्थायी कमिटी बैठक सर्ने स्थिति देखिएको छ ।
प्रदेश तथा जिल्ला नेतृत्व स्थायी कमिटी बैठकअगावै सचिवालयले नेतृत्व टुंग्याउने नेकपाको योजना थियो । तर भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सिताराम यचुरीको नेपाल भ्रमण र पार्टीको चियापानले स्थायी कमिटी बैठक सर्नैपर्ने अवस्थामा पुगेको हो । यसैबीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी ओलीको स्वास्थ्य बिग्रिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य समस्याकै कारण शनिबारको चियापान समारोहमा समेत उपस्थित हुन सकेनन् । ओलीको स्वास्थ्यकै कारण सचिवालय तथा स्थायी कमिटी बैठक फेरि केही दिन पर धकेलिने स्थिति देखिएको छ । यसबाट प्रदेश तथा जिल्ला कमिटी गठन र जनवर्गीय संगठन एकीकरण अझै ढिला हुने संभावना बढेको छ । तल्लो तहसम्मको एकता तिहारपछि मात्र छिनोफानो हुने स्रोत बताउँछ ।
नेकपामा विभिन्न पक्षबीच नेतृत्व बाँडफाँड नमिल्दा प्रदेश कमिटीले पूर्णता पाउन सकेको छैन । पार्टी एकता भएको ३ महिनाभित्रै तल्लो तहसम्मको एकीकरण टुंग्याउने भनिएता पनि जिल्ला कमिटी गठन र जनवर्गीय संगठन एकीकरण हुन सकेको छैन ।