आईजीकै निर्देशनमा काम गरेको वर्खास्त एसपीको दावी

निर्मला पन्त प्रकरण

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको मात्र होइन, गृह मन्त्रालयको चर्को आलोचना भइरहेको छ । सो घटनालाई लिएर गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई वर्खास्त गरेको छ । उनीहरु कर्तव्य पालना गर्न चुकेको भन्दै वर्खास्त गरिएको बताइएको छ ।
साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला सोही दिनदेखि वेपत्ता भएकी थिइन् । भोलिपल्ट ११ गते उखुबारीमा उनको शव फेला परेको थियो । तर पन्तको वलात्कार तथा हत्यामा संलग्न व्यक्तिबारे अहिलेसम्म कुनै सुइँको फेला पार्न नसक्दा नेपाल प्रहरी मात्र होइन, राष्ट्रिय अनुसन्धान विभाग र गृहमन्त्रालयको क्षमतामाथि नै प्रश्न उठिरहेको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सांसद, नेताहरुले समेत पन्तका हत्यारालाई कारवाही गर्न निर्देशन दिएका छन् । आईजीपीले पनि दोषीलाई पक्राउ गरेरै छाड्ने दावी गरेका छन् । एआईजीदेखि लिएर एसपीसम्मको नेतृत्वमा घटनास्थलमा चार वटा टोली सक्रिय रहेपनि ९४ दिन वितिसक्दा पनि कुनै सुराक फेला पार्न नसक्दा पीडित परिवार मात्र होइन आम जनता निरास भएका छन् ।
अहिलेसम्म त्यहाँ नेपाल प्रहरी र गृहमन्त्रालयबाट खटिएका सात वटा टोली पुगिसकेका छन् । अनुसन्धान जारी छ भनिएपनि थप सूचना संकलन भएको प्रचार गर्दै प्रहरीले आफ्नो इज्जत ढाक्न खोजेको छ भने प्रहरीको अनुसन्धान टोलीबाटै लापरवाही भएको निष्कर्ष गृहमन्त्रालयले गठन गरेको सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वको उच्चस्तरीय छानबिन समितिले गरेको छ ।

एआईजीदेखि लिएर एसपीसम्मको नेतृत्वमा घटनास्थलमा चार वटा टोली सक्रिय रहेपनि ९४ दिन वितिसक्दा पनि कुनै सुराक फेला पार्न नसक्दा पीडित परिवार मात्र होइन आम जनता निरास भएका छन् ।

नेपाल प्रहरीलाई विश्वास नगरेर गृहमन्त्रीले छुट्टै टोली पठाएको भन्दै आईजीपी सर्वेन्द्र खनालले रोष प्रकट गरेका छन् भने अनुसन्धानमा खटिएका तर कुनै निष्कर्ष निकाल्न नसक्ने अधिकृतहरुको समेत वढुवा हुँदा नेपाल प्रहरीमा वितृष्णा फैलिन थालेको छ ।
स्थानीय जनताको व्यापक दवाव पछि अनुसन्धानले गति लिने देखिएको थियो । तर पछिल्ला दिनहरुमा प्रमाणहरु समेत लोप हुँदै गएका खबर आइरहेका छन् । प्रहरीकै मिलेमतोमा प्रमाणहरु नष्ट पारिएको भन्दै स्थानीयवासी थप आक्रोशित बनेका छन् । तत्काल दोषी पक्राउ पर्ने अवस्था भएपनि सुरक्षा निकायकै कमजोरीका कारणले सो घटनालाई ढाकछोप गर्न खोजिएको उनीहरुको आरोप छ ।
पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै बिहिबार सेवाबाट बर्खास्त गरिएका एसपी डिल्लीराज विष्टले आफूले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार नै काम गरेको दावी गरेका छन् ।
विष्टले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महानिरीक्षकको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई जानकारी गराएर पन्त घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका छन् ।
निर्मलाको शब दाहसंस्कार गर्दा पनि आफूले आईजीपीलाई सोधेर नै जलाएको बताएका छन् । माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टको दावी छ ।
एसपी विष्टले आफुलाई नियतबस बर्खास्त गरिएको दाबी गर्दै घटनाको अनुसन्धानका लागि एक जना डिएसपीको नेतृत्वमा दुई इन्स्पेक्टरसहितको टोली पठाएकोमा आफू मात्र दोषी सावित हुनुले अचम्ममा परेको बताएका छन् ।
उनले आफूलाई कुनै सरोकार नभएका प्रश्न सोधिएको र आफूहरुमाथि लगाइएको आरोप हावादारी भएको दावी गरेका छन् । आफूहरुले अनुसन्धान गरिरहेका बेला घटनालाई अन्तै मोडिएको पनि उनले बताएका छन् ।
विष्टका अनुुसार निर्मला पन्तको बलात्कार र हत्याको घटना लगत्तै डिएसपी ज्ञानबहादुर सेट्ठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदिश भट्ट तथा सईहरु हरिसिंह धामी, बासुदेव अवस्थी, रामसिंह धामी र देवसिंह कुँवरसहितको टोली घटनास्थल पुगेको थियो । डिएसपीकै नेतृत्वमा गएको टोलीले लिएको घटनास्थल मुचुल्कामा शंका गर्ने आधार नभएकोले आफु चुपचाप अभियुक्तको खोजीमा जुटेको विष्टले बताएका छन् ।
एसपी विष्टले जघन्य अपराधको मुद्दा २० औं वर्षपछि पनि ब्युँतिने बताउँदै आफूले कसैलाई बचाउन खोजेको आरोप मिथ्या भएको दाबी गरेका छन् । प्रहरी सेवाबाट बर्खास्त गरेको पत्र हात परेपछि उनले आफुलाई कसैलाई बचाउन कुनै दबाब नभएको दाबी गरेका हुन् ।
सरकारी सेवामा योग्य हुने र प्रहरीबाट अवकाशपछि पाउने सबै सेवा सुविधा प्राप्त हुनेगरी बर्खास्त गरिएका एसपी विष्टले अध्ययन र छलफलपछि अगामी कदम उठाउने बताएका छन् । तर साउन १० गते निर्मलाको खोजी गर्न जान नमान्ने वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिशप्रसाद भट्ट र बालिकाको शब फेला परेपछि घटनास्थलमा विष्ट नपुग्नुलाई अनुसन्धान अधिकारीहरुले शंकास्पद मानेका छन् ।
घटनाको तीन महिना पूरा भइसक्दा समेत मुख्य अभियुक्त पक्राउ नपर्नुले दबाबमा रहेको सरकारले निष्कासनमा परेका विष्टमाथि समेत थप कारबाहीको तयारी थालेको बुझिएको छ ।