सुख्खा टार बनेको गाउँ कुलो आए पछि फेरियो
पाल्पा । केही वर्ष अघि सम्म पाल्पाको निस्दी गाउँपालिका १ डमरा फाँटको तल्लो भागमा मात्र धान बाली उब्जनी हुँदै आएको थियो । अन्य स्थानमा आकाशे पानीको भरमा कोदो, मकै र गेडागुडी मुस्कीलले उब्जनी हुने गर्दथ्यो ।
एक बाली मात्र उब्जाउ हुने फाँटमा ३ वर्ष यता धानका बाला झुल्न थालेका छन् । नेपाल सरकारको सहयोग र स्थानीयको श्रमदानमा पाल्पा र नवलपरासीको सिमानामा पर्ने बौदीखोलाबाट डमरा भोटाहा सिंचाई आयोजना सञ्चालनमा आए संगै यहाँका ८० हेक्टर भन्दा बढी खेत तथा बारीमा धानका बाला झुल्न थालेका हुन । निस्दी १ को बाका खोला देखि भोटाहाको हजार फाँट सम्मको पुरानो कुलोमा सिंचाई आयोजना मार्फत बौदी खोलाको पानी मिसाई केही स्थानमा मर्मत गरे संगै ८० हेक्टर जमिनमा बाह्रै महिना सिंचाई हुँदै आएको छ । डमराको माथिल्लो भाग देखि कालीनदी तट भोटाहा सम्म सिँचाई हुँदै आएको हो । सिंचाई सञ्चालन भए सँगै डमरा क्षेत्रमा बसोबास गर्ने र खेतीपाती गर्ने कृषकहरुको जीवन स्तरमा अहिले सुधार आएको छ ।
डमराका कृषक कृष्णप्रसाद थापा आफ्नो सुख्खा टार सिंचाई भए पछि दंग छन् । उनी भन्छन् ‘सिंचाई आए पछि हामीलाई धेरै सुविधा भएको छ । पहिलेको सुख्खा टार कुलो आएपछि खेत बनेको छ । तल्लो भागमा थोरै खेत र अन्य बारीमा खेती गरेर १० जनाको परिवार पाल्नलाई उब्जनीले पुग्दैनथ्यो । अहिले उब्जनी बढे पछि बेच्न थालेको छु ।’
थापाले खेतीपाती गरेर अहिले गाउँका अधिकांशलाई जीवन निर्वाह गर्न सहज भएको बताए । भोटाहाका स्थानीय कृषक ज्ञानबहादुर रानालाई पनि वर्षभरी खेतबारीमा काम गरेर आफ्नो १५ जनाको परिवारलाई ६ महिना सम्म खाना पुग्थ्यो । बाँकी छ महिना अन्यत्र बाटै किन्नु पर्ने बाध्यता थियो । तर अहिले परिवारका लागि प्रसस्त उब्जाउ हुने गरेका राना बताउँछन् । उनी भन्छन् ‘अहिले खेत र बारी गरी १७ रोपनीमा मकै, धान, गहुँ, आलु गरी वर्षमा तीन बाली लगाउँदै आएको छु । परिवारका लागि आवश्यक खाद्यान्न आफ्नै उब्जनीले पुग्छ ।’ थापा र राना मात्र होईन डमरा, भोटाहाका ८० घर परिवार र डमरा फाँटामा खेती लगाउँदै आएका निस्दी १ अर्मलाङ, पुर्वमलाङ्ग, राहुवन, राईका र नवलपुर रकुवाका सय घर गरी १ सय ८० घरको नहरले स्तर फेरिदिएको छ । सिंचाई पुगे संगै पहिले खेती गर्दै आएका टारी खेतका कृषकहरुलाई झनै सुविधा भएको छ । डमराकी सीता कार्की भन्छिन् ‘कुलोको पानी नहुँदा खोल्साको पानीले नपुगेर रातभरी पालो कुरेर बस्नु पथ्यो । अहिले त बारी सिंचाई गर्न पनि कुनै कठिन छैन ।’ समस्या यी मात्र नभई उब्जनी नहुँदा डमराका धेरै मानिस आफ्नो थलो छाडेर तराई तथा अन्यत्र बसाई सर्नु परेको थियो । कुलाले गाउँका बारी सबै सिंचाई हुने भए पछि अहिले बसाई सराई पनि रोकिएको स्थानीय शिक्षक चिन्तामणी पाण्डेले बताए । सिंचाई आयोजना अन्तर्गत बाकाखोला देखि भोटाहा सम्म कुलो पहिले नै सञ्चालनमा रहेको हो । २०६५ सालमा बौदीखोला देखि बाकाखोला सम्म नयाँ कुलो निर्माण सुरु गरिएको थियो । संगै पुरानो कुलोलाई मर्मत सुधार गरिएको छ । जम्मा ९ किलो मिटर लम्बाई रहेको कुलो नेपाल सरकार र स्थानीयको २ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
कुलोको केही भाग मात्र पक्की रहेको र अधिकांश भाग कच्ची रहेकाले बेला बेलामा समस्या देखिदै आएको डमरा भोटाहा सिंचाई आयोजनाका अध्यक्ष कुल बहादुर रानाले बताए । स्थानीय सरकारको सहयोगमा जसो तसो सञ्चालन गर्दै आएको अध्यक्ष रानाको भनाई छ । उनले कच्ची कुलोका कारण केही ठाउँमा जटिल समस्या देखिएकाले स्याउला र टेकाको भरमा कुलो सञ्चालन गरिरहदै आएको बताए । साथै उनले स्थानीय तहबाट आएको रकमले मर्मत गर्दै आएको र कुलोको स्तर सुधारका लागि प्रतिक्षामा रहेको जानकारी दिए । निस्दी १ का वडा अध्यक्ष पुर्ण बहादुर खाँणले बाह्रै महिना सञ्चालनका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने बताए । कुलो मार्फत सिंचाई मात्र नभई निस्दी १ का स्थानीयहरुले लघुविद्युत उत्पादनको समेत काम गरिरहेका छन् । सिंचाईमा कुनै असर नपर्ने गरी २६ किलोवाटको लघु जलविद्युत निर्माण भइरहेको छ । निर्माणका कार्य अन्तिम चरणमा पुगेकाले डमरा, भोटाहा, पूर्वमलाङ, अर्मलाङका २ सय भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभाम्वित हुनेछन् ।