तिहारमा घरका साथै मनमा पनि बत्ती बलोस्
चाडपर्वको लहरमा तिहार नजिकिदै छ । तिहारमा विशेषतः दशैंमा सिंगारिएका घरलाई झिलिमिलि पारेर सुनमा सुगन्ध थपेझैं गराइन्छ । तिहारले धेरैलाई आकर्षित गरेको हुन्छ । त्यसमा देउसी–भैलोको रमझम, ढकमक्क फुलेका सयपत्री र मखमली पूmलहरूसहित सप्तरंगी टीका र थरिथरि रोटीका परिकारले गर्दा तिहार धेरैको मन पर्ने चाड हो । दिदी बैनी र दाजुभाइको माया, ममता र स्नेह बढाउने, गाई, कुकुर र कागसित पनि सम्बन्ध नवीकरण गर्ने यो चाडको महत्व भिन्नै रोचक छ । यति हुँदा हुँदै पनि तिहारका केही नकारात्मक पक्ष विद्यमान छन् । तिनमा सुधार आउनु जरुरी छ ।
त्यसो त कुनै पनि चाडबाड पूर्ण सकारात्मक हुन सकेका छैनन् । तीजमा महिनौ अघि चल्ने पार्टी र अधिकांश उत्ताउला गीत, दशैंमा जुवा र खानपानले विकृति बढाउने क्रम जारी छ । तिहारमा पटाका विकृतिको असैह्य पीडाबाट मुक्ति पाउन सकिएको छैन । पटाका हरेक दृष्टिकोणबाट हानिकारक भए पनि यसलाई निषेध गर्न नसकेको अवस्था छ । कतिपय ठाउँमा दशैंको भोलिपल्टदेखि नै तिहारका नाममा पटाका पड्काउनेहरू त्यसैमा रमाइरहेका छन् र पनि कसैले केही गर्न सकेको छैन । पटाकाले एकातिर वायु प्रदुषण बढाउँछ भने अर्कातिर श्रवणशक्तिमा ह्रास ल्याउँछ । त्यतिमात्र होइन वातावरण नै कोलाहलमय बनाएर कत्तिको त दिमागसम्म असर पु¥याइरहेको हुन्छ भने कतिलाई शारीरिक रूपमै हानी गर्छ । विदेशबाट आयात हुने भएकाले हानिकारक वस्तुका लागि अनावश्यकमै नेपाली मुद्रा विदेशिने अर्को वेफाइदा कायम रहन्छ । त्यसैले यसको आयातमै पूर्ण नियन्त्रण गर्नु जरुरी छ । पटाकाका कुनै पनि प्रयोग निषेधित नै गर्नु अनिवार्य देखिन्छ ।
त्यस्तै अर्को विकृतिका रूपमा मौलाएको डिस्को डान्सवाला देउसी–भैलो र मगन्ते पाराको देउसी–भैलोलाई पनि निषेध गर्नुपर्ने आवश्यकतालाई स्थानीय तहका सरकारले पनि यसै वर्षदेखि पुरा गर्न सक्छन् । देउसी–भैलोको कला र संस्कृतिलाई कायम राख्दै निश्चित सामाजिक वा साँस्कृतिक प्रयोजनका लागि खेलिएका सभ्य खालका देउसी–भैलोलाई भने यथाशक्य सहयोग र समर्थन गर्न सके यसतर्फको विकृतिलाई न्यून गर्न सकिने आँकलनले फेल नखाला ।
यस्तै बल्लतल्ल धानेको विजुलीमा तिहारका बत्ती ओभरलोड हुन्छन् । यस्तो अवस्था बढ्दो तडकभडकका कारण विद्यमान छ । यसलाई पनि कम गर्नु जरुरी छ । बढी मिटर घुमाउने बत्तीको वैकल्पिक प्रयोगलाई जोड दिन सके ओभरलोडको समस्या कम हुने थियो ।
जुवाडेका लागि तिहार त झन् ठूलो चाड मानिन्छ । तिहारमा जुवा खेल्नै पर्छ भन्ने मान्यतालाई प्रश्रय दिदा धेरैको जिन्दगी बर्बाद भएको दृष्टान्त देख्न, सुन्न पाइराखेको विषय हो । तिहारलाई बहाना बनाएर खेलिने जुवाका ठूला खालमा कतिको घरबार बिग्रने हो यसलाई हदैसम्म नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि स्थानीय सरकारले लिन सक्छ । यस्ता कुरा देखे, भोगेकाले आफै जान्न सके त्यो चेतनाले काम गर्ने थियो । त्यो चेतना भइदिए यी दुर्घटना हुने नै थिएनन् । चेतना नभएपछि वा आफैलाई नटेरेपछि अर्काले भए पनि तह लगाउनु पर्ने अवस्था आउँछ यस्तो अवस्थामा स्थानीय सरकार सक्रिय हुनु अनिवार्य छ ।
खानपानमा पनि ध्यान पु¥याउनु जरुरी छ । अशुद्ध तेल घिउमा धेरै थरि रोटी बनाउनु भन्दा शुद्ध तेल घिउबाट बनेका थोरै रोटीबाट धेरै सन्तुष्टि लिने प्रयास स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ ।
यसैगरी दाजुभाइ नै नभएका वा नजिक नरहेका दिदीबैनी वा दिदीबैनी नहुने दाजुभाइले यसैबेला आफ्ना लागि उपयुक्त भाइटीका पात्रको खोजी गरेर अहिले हुने खल्लोलाई रमाइलोसित टार्न सक्छन् ।
कुनै पनि चाडबाडमा हुने विकृतिलाई न्यून गर्दै सुकृतिलाई महत्वका साथ निरन्तरता दिन सके त्यसको गरिमा बढ्दै जान्छ र त्यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न किसिमका फाइदा पनि दिन्छ । विकृतिलाई कम गर्न सकिएन भने चाडबाडको महत्वमा नै आँच आउँछ । चाडबाड वा कुनै पनि उत्सवमा सहभागीहरू मिलेर काम गर्नु, मिलेर खानु, मिलेर रमाउनुले आफन्त र परिवारबीच मायाप्रेम र सम्बन्ध बढाउँछ । चाडबाडको निहूँमा कोही ठूलाबडा बनेर बस्ने, खाने र रमाउने कसैलाई काममा मात्रै जोताउने प्रबृत्ति छ । यस्तो प्रबृत्ति रहिरहे काममा खटिनेलाई न खाने पूmर्सद हुने न रमाउने पूmर्सद हुने अवस्था कायम रह्यो भने परिवारको त्यो सदस्यलाई चाडबाड आउनु भन्दा नआउनु नै वेश हुन्छ । अरु बेला भन्दा बढी चाडबाडमा छिमेकीको दुःखसुखको पनि ख्याल गर्नुपर्ने हुन्छ । यस्तो चासो स्थानीय सरकारले पनि लिन सके झनै राम्रो ।
घरबाहिर बत्ती झिलिमिली पारेर दीपावली मनाउनुलाई नराम्रो नमानेर राम्रो माने पनि सबै नेपाली मनभित्र बत्ती बलेर दीपावली मनाउन सके अहिलेको तिहार अझ राम्रो हुने थियो । साँच्चिकै शुभ दीपावलीमय हुने थियो । यतापट्टि सुखी नेपाली, समृद्ध नेपाल नारा दिएको सरकारको ध्यान पुगोस् ।