शरद गौचनका हत्यारा अर्को हत्याको योजना बुन्दै गर्दा पक्राउ
काठमाडौं–महानगरीय अपराध महाशाखाको टोलीले झापा बिर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, नार्गाजुन काठमाडौंका रोशन बूढाथोकी र उदयपुर रौताका अमरबहादुर रानालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।
प्रहरीले अर्को हत्याको योजना बनाउँदै गर्दा तामाङ, बूढाथोकी र रानालाई पक्राउ गर्न सफल भएको बताएको छ । उनीहरुले बिर्तामोडमै बसेर व्यवसायीको हत्या योजना बनाएको प्रहरीको दाबी छ ।
उनीहरुलाई लुकिछिपी बसिरहेको अवस्थामा झापाको काकडभिट्टाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) धीरज प्रताप सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीले पक्राउ परेका उनीहरु गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी भएको बताएको छ ।
उनीहरु समिरमानकै निर्देशनमा आपराधिक काममा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । समिरमान हाल गौचन हत्या प्रकरणमै जेलमा रहेका छन् ।
प्रहरीले पक्राउ परेका तीनै जनाले गौचन हत्यामा संलग्न रहेको स्वीकार गरिसकेको भन्दै थप अनुसन्धान कार्य जारी रहेको बताएको छ ।
गौचन हत्याकाण्डमा रानाले मुख्य सुटरको भूमिका निर्वाह गरेका थिए भने उनले सो अघि दुई घटनामा सुटरको भूमिका निर्वाह गरेको खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
०७३ चैत २९ गते बौद्धमा काभ्रेका गुण्डा नाइके दावा लामालाई गोली हान्ने घटनामा रानाकै संलग्नता रहेको थियो भने सोही वर्षको पुसमा रुपन्देहीका दुर्गा तिवारीको हत्या काण्डमा पनि उनी नै सुटर थिए ।
नेपाली सेनाको भगौडा राना त्यहाँबाट भागेपछि समिरमान बस्नेतको सहयोगी बनेर आपराधिक गतिविधिमा लागेका थिए ।
गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो ।
त्यतिबेला हत्यामा सुटरको भूमिका निभाएका भनिएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राजीव स्याङ्ताङ्लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
यस्तै पक्राउ परेका अन्यमा सहयोगीको भूमिका निर्वाह गरेका, हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए ।
यस्तै हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पनि प्रहरीले पक्राउ गरिसककेको छ भने अर्का आरोपी मनोज पुन इन्काउन्टरमा मारिसकेका छन् ।