ओली चिनियाँ कम्युनिष्ट कार्यालयमा छिर्दा खैलाबैला

काठमाडौं, असार १० । प्रधानमन्त्री के पी ओलीले चीन भ्रमणका क्रममा त्यहाँको कम्युनिष्ट पार्टी मुख्यालय निरीक्षण गरी राजनीतिक प्रवचन दिएपछि त्यसले अहिले नेपालको राजनीतिमा केहीलाई खैलाबैला पारेको छ । प्रधानमन्त्री ओली चिनियाँ कम्युनिष्ट कार्यालयमा छिरेपछि मुलुकभित्र नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दल आत्तिएका छन् ।
प्रधानमन्त्री ओलीको त्यो कार्यप्रति नेपाली काँग्रेसले आपत्ति नै जनाएको छ । नेपाल र चीनका प्रधानमन्त्रीस्तरीय वार्तापछि जारी भएको १४ बुँदे वक्तव्यमा सी जिनपिङ विचारधाराको चर्चा गरिएको छ । तर, गैरकम्युनिस्टहरुले नेपाल सरकारकै तहबाट सी जिनपिङ विचारधाराप्रति समर्थन जनाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
यसका साथै प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालय निरीक्षण गर्नु र त्यहाँ प्रवचन दिनु उपयुक्त नभएको भन्दै कांग्रेस र राप्रपाका नेताहरुले गुनासो गरेका छन् । संयुक्त वक्तव्यमा सी जिनपिङ विचारधारा अन्तर्गत चिनियाँ विशेषतासहितको समाजवाद निर्माणप्रति नेपालको समर्थन रहने कुरा समेत थपिएपछि यसबारे बहस सुरु भएको हो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चीनले लिँदै आएको राजनीतिक विचारधाराप्रति नेपालको विमति नरहेको बताए । तर, नेपालको प्रधानमन्त्री संविधानको विचारधारा अनुसार चल्नुपर्ने भन्दै उनले अमूक पार्टीको विचारधारा नेपाल राज्यको विचारधारा हुन नसक्ने प्रतिक्रिया दिए । महतले भने ‘प्रधानमन्त्रीको हैसियतमा औपचारिक भ्रमणमा गएपछि पार्टीका कार्यक्रममा सहभागी हुनु शोभनीय होइन । उहाँले कम्युनिस्ट पार्टीको प्रवचन नै दिनुभएको कुरा पनि आयो, सी जिनपिङ विचारधाराप्रति नेपालको कुनै विमति हुने कुरा छैन । तर, त्यो विचारधारा हाम्रो प्रधानमन्त्रीको वा देशको हुन सक्छ कि सक्दैन ? यो प्रश्न महत्वपूर्ण हो ।
पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको हैसियतमा कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा जाने र प्रवचन दिने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिए । थापाले सी जिनपिङ विचारधाराप्रति नेपालको समर्थनको कुरा वक्तव्यमा आउनुचाहिँ राजनीतिक र कूटनीतिक सन्दर्भ भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने सी जिनपिङ विचारधाराबाट चीनले प्रगति गर्ने कुराको नेपालले समर्थन गर्नु र प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको स्कूलमा प्रवचन दिनु स्वाभाविकै भएको बताए ।
श्रेष्ठले भने ‘यसमा लुकाउने कुरा छैन, हाम्रा प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पनि भएकाले एउटा कम्युनिस्ट पार्टीको अध्यक्षले अर्को कम्युनिस्ट पार्टीको कार्यालय भ्रमण गर्नु, कम्युनिस्ट आन्दोलनबारे हाम्रो पार्टीको दृष्टिकोण राख्नु सामान्य कुरा हो । प्रतिक्रिया दिने मित्रहरुले नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ भन्ने त बुझ्नुप¥यो नि ।’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य पछिल्लो संयुक्त वक्तव्य र प्रधानमन्त्रीको कम्युनिस्ट प्रवचनबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
आचार्यले भन्छन् विगतमा पनि कम्युनिस्ट हेडक्वार्टरमा गएर त्यहाँका नेतालाई भेट्ने प्रचलन थियो । आखिर चीनमा सबै संयन्त्र कम्युनिस्ट पार्टीको नियन्त्रणमा छन् । पार्टी पार्टीलाई नजोडेको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिन सकिन्छ । तर, नेपाल र चीन दुवैतिर कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गरेको यथार्थ हो । त्यसको प्रतिबिम्ब त झल्किहाल्छ ।
यो भ्रमणका क्रममा दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझ ब्यापक बनाउने र सहकार्य तथा द्विपक्षीय भ्रमणहरु आदान–प्रदान गर्ने विषयमा सघन छलफल भएको भ्रमण दलका सहभागी नेताहरुले बताइसकेका छन् ।