नेपाली काँग्रेसको विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन तयारी

काठमाडौ- नेपाली काँग्रेसको विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन लागेको छ ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले मस्यौदालाई अन्तिम रूप दिने प्रयास गरिरहेको छ ।

समितिका सदस्य प्रदीप पौडेलले प्रायः सबै काम सकिएको जानकारी दिनुभयो । उहाँले भोली हुने पार्टीको चियापान कार्यक्रमसम्म पूर्ण विवरण तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।

नेता पौडेलले काँग्रेसको विधानमा अहिले संरचनात्मक रूपमा आमूल परिवर्तन गरिएको बताउनुहुँदै सबै तहको कार्य समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो ।

साथै जनसङ्ख्याअनुसार अन्य विभिन्न जाती र समुदायको प्रतिनिधित्व गराउनका लागि अध्ययन भइरहेको छ ।
नेता पौडेलले भन्नुभयो, ‘‘सबै कार्यसमितिलाई अधिकार सम्पन्न बनाउन प्रस्ताव गरिएको छ, सभापतिलाई त्यस्तो विशेष अधिकार प्रदान गरिएको छैन ।’’

पार्टीको संरचना अब आठ तहको हुने भएको छ । जसअनुसार गाउँ, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश सभा कार्य समिति र केन्द्रीय कार्य समितिको संरचना प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्य समितिको सङख्या पनि अहिलेको भन्दा बढ्ने भएको छ । जातीय समूहअनुसार सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्दा बढीमा १२३ सदस्यीय हुने जानकारी नेता पौडेलले दिनुभयो ।

विधान मस्यौदा समितिका अर्का सदस्य फरमुल्लाह मन्सुरले पनि मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । काँग्रेसको विधानलाई पारित गर्न आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडाँैंमा महासमितिको बैठक आह्वान गरिएको छ ।