महिला सशक्तीकरणमा समृद्धि समाज

पाल्पा, असार १० । स्थापना भएको छोटो समयमै महिलाहरुलाई सशक्तीकरण र क्षमता अभिवृद्धि कार्यमा सक्रिय बनाउँदै आएको छ समृद्धि महिला समाज नेपालले । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा स्थापना भई यस क्षेत्रका महिलाहरुको क्षमतामा वृद्धि गर्नुका साथै आत्मनिर्भर बनाई समृद्ध समाज निर्माणमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संस्थाले रामपुर नगर भित्र रहेका महिला दिदी बहिनीहरुका लागि क्षमता विकास, स्वास्थ्य सरसफाई तथा सशक्तिकरण सम्बन्धी चेतनामूलक तालिमहरु सञ्चालन गर्दै आएको हो । असार ३ गते देखि ७ गतेसम्म नगरका १० वटा वडाका महिलाहरुलाई तालिम दिइसकेको छ । चुलो चौकोमा मात्र सीमित महिलाहरुलाई समाजका हरेक क्रियाकलापमा संलग्न गराई समृद्ध समाज, सुन्दर नगर बनाउने उद्देश्य रहेको संस्थाकी अध्यक्ष सावित्रा गैरेले बताइन् । उनले महिलाहरु विनाको सहभागिताको विकास योजना अपारदर्शी र दिगो नहुने भएकाले विकास निर्माणमा महिलाहरुको सहभागिता अनिवार्य गराउन पनि जनचेतनामूलक र क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
२१ औं शताब्दीमा पनि महिलाहरु घरमै सिमित रहनु पर्ने, विभिन्न हिंसाहरुबाट प्रताडित हुनुपर्ने भएकाले त्यसबाट माथि उठाई समाज र नगरको विकासमा महिलाको जनसहभागिता गराउन संस्थाले विभिन्न महिलालक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिंदै आएको संस्थाकी सचिव सुशिला रेग्मीले बताईन् । रामपुर नगर भित्रका सम्पूर्ण महिलाहरुका लागि क्षमता विकास, स्वास्थ्य सरसफाई तथा शसक्तिकरण सम्बन्धी चेतनामूलक तालिमहरु सञ्चालन गरिसकेको सचिव रेग्मीले जानकारी दिइन् । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरका ५ सय जना महिलाहरुलाई जनचेतनामूलक तालिम दिइएको संस्थाले जनाएको छ ।
तालिममा सहभागी मिना अधिकारीले परिवार भन्दा बाहिर गएर मासमा बोल्न नसक्ने अवस्थामा थिएँ, तर तालिम प्राप्त गरे पछि अब बोल्न सक्ने क्षमतासम्म महसुस भएको बताइन् । उनी जस्तै अन्य सहभागी महिलाहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तालिमको पत्रकारहरु प्रकाश नेपाल, रामचन्द्र रायमाझी, रामपुर नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगाना, खालीबन स्वास्थ्य चौकीका इन्चार्ज सुवास अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।