स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२

पुणे(महाराष्ट्र)-भारतको महाराष्ट्र राज्यमा यसवर्ष स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए ।हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ ।

मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए । मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ । यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।

जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएको तैपनि यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए, आवटेले बताए ।

डा आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताए ।रुघाखोकी लागेका मानिस सार्वजनिक स्थलमा नगएको राम्रो हुन्छ, आवटेले बताए ।